मदन भण्डारी स्मृति दिवसको पूर्वसन्ध्यामा अनेरास्ववियुद्वारा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं । मदन भण्डारी स्मृति दिवसको पूर्वसन्ध्यामा अनेरास्ववियु उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ वृहत रक्तदान कार्यक्रम अस्कल क्याम्पसमा सम्पन्न भएको छ । अनेरास्ववियु अस्कल क्याम्पस कमिटीको सहकार्यले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि तथा अनेरास्ववियुका केन्द्रीय उप–महासचिव कमल जोशीले रक्तदानलाई शारीरिक योगदान मात्र नभई मानवीय संवेदनाको सबल अभिव्यक्ति भएको बताउँदै युवा विद्यार्थीहरूलाई सामाजिक सेवा र जनहितका कार्यमा सक्रिय हुन आह्वान गरे ।
कार्यक्रमको अध्यक्षता उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष डम्बर खड्काले गरेका थिए । उनले शहीदहरूका सपना साकार गर्न विद्यार्थीहरूलाई व्यवहारिक समाजवादको बाटोमा अग्रसर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सचिवालय सदस्यहरू शुष्मा शाही, रुद्रहरि पोख्रेल, डा. पुष्पराज भाम लगायत केन्द्रीय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले विद्यार्थी संगठनले समाजलाई सकारात्मक दिशातर्फ डो–याउने क्षमता राख्ने विश्वास व्यक्त गरे ।
विद्यार्थी, शिक्षक, युवा कार्यकर्ता तथा विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा सम्पन्न यस कार्यक्रमले संगठनभित्रको सहकार्य, पारदर्शिता र ऐक्यबद्धतालाई थप बलियो बनाएको छ ।
यो अभियान अनेरास्ववियुजस्तो प्रगतिशील विद्यार्थी संगठनले सामाजिक उत्तरदायित्व र मानवीय सेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयासको एक सशक्त उदाहरण बनेको आयोजकको धारणा छ ।