सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी


काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरिएका तीन व्यक्तिविरुद्ध संसदीय सुनुवाइ समितिमा सातवटा उजुरी परेका छन् । समितिकी सभापति ईश्वरी न्यौपानेका अनुसार पाँचवटा उजुरी व्यक्ति लक्षित छन् भने दुईवटा उजुरी सुनुवाइ प्रक्रियासँग सम्बन्धित छन् ।
संघीय संसद् सचिवालय, सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा सभापति न्यौपानेले उजुरीबारे जानकारी गराउँदै उजुरीकर्ताहरूलाई आगामी शुक्रबार बिहान ११ः३० बजे बस्ने समितिको बैठकमा उपस्थित हुन आमन्त्रण गर्ने निर्णय गरिएको बताइन् ।
न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा प्रस्तावित छन् ।
तीनैजना प्रस्तावित न्यायाधीशहरूसँग यही असार १५ गते आइतबार मध्यान्ह १२ः१५ बजे संसदीय सुनुवाइ हुने समितिले जानकारी दिएको छ । समितिले उजुरीकर्ताको धारणा र प्रमाणको आधारमा सुनुवाइ अघि थप निर्णय गर्ने तयारी गरेको छ ।