रिक्त पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नाम दर्ता गर्न आग्रह


काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा तथा स्थानीय तहका रिक्त पदहरूमा उपनिर्वाचनको तयारी सुरु भएको छ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मतदाता नामावलीमा छुटेका नागरिकलाई नाम दर्ता गर्न अपिल गरेको छ ।
आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निकट भविष्यमा रिक्त पदहरूमा उपनिर्वाचन हुने भएकोले मतदाता नामावलीमा नाम दर्ता नगराएका व्यक्तिहरूले चाँडो दर्ता गराउन अनुरोध छ । निर्वाचन घोषणा भएपछि नामावली दर्ता बन्द हुने कानुनी व्यवस्था भएकाले तत्कालै नाम दर्ता गरिनु उपयुक्त हुन्छ ।”
२०७९ मा सम्पन्न निर्वाचनपछि विभिन्न कारणले केही पद रिक्त भएका छन् । आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग असार ६ गते गरेको छलफलमा उपनिर्वाचनको विषय उठाएको थियो । आयोगले नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र निर्वाचन मिति तोक्ने तयारी गरिरहेको छ ।
रुपन्देही–३ प्रतिनिधिसभा क्षेत्र र गण्डकी प्रदेशको मनाङ–१ (२) प्रदेशसभा क्षेत्र रिक्त छन् । रुपन्देही–३ राप्रपाका सांसद दीपक बोहोराको निधनका कारण र मनाङमा सांसद दीपक मनाङे (राजीव गुरुङ) को पद रिक्त भएपछि यी क्षेत्रमा निर्वाचन आवश्यक भएको हो ।
त्यस्तै, देशभरका विभिन्न स्थानीय तहमा १३ वटा वडाध्यक्ष पद रिक्त रहेको आयोगले जनाएको छ । साथै, राष्ट्रिय सभाका १८ सिटहरू आगामी फागुन २० गते रिक्त हुने भएकाले आयोगले सोसम्बन्धी तयारी पनि अघि बढाएको छ ।
आयोगले जनतालाई समयमै मतदाता नामावलीमा नाम समावेश गराई लोकतान्त्रिक अभ्यासमा सहभागिता जनाउन आग्रह गरेको छ ।