इरानबाट एकै दिन ३० हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता


एजेन्सी । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केको स्थानीय अधिकारीले बुधबार बताएका छन् ।
सूचना र संस्कृति विभागका प्रान्तीय निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले उनीहरुलाई पानी, खाना र तत्काल चिकित्सा सहायतासहित सबै आवश्यक आपूर्तिहरू प्रदान गरिएको बताए ।
अफगानिस्तानले इरानसँग एउटा पश्चिमी हेरात प्रान्तमा र अर्को निमरोज प्रान्तमा गरी दुईवटा प्रमुख सीमाहरु खुल्ला गरेको छ, हालसालै दुवै सिमाहरूबाट फर्कने शरणार्थीहरूको सङ्ख्या तीव्र भएको जनाइएको छ ।
अनुमानित दुई–तीन हजार व्यक्ति र करीव ३०० परिवारहरू निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमा पार गरेर हरेक दिन अफगानिस्तान फर्किरहेको शरणार्थी र स्वदेश फिर्तीका प्रान्तीय निर्देशकले बताएका छन् ।
करिब ७० लाख अफगान शरणार्थीहरू मध्ये अधिकांश कागजात विहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन्, जसमध्ये सबैभन्दा बढी इरान र पाकिस्तानमा रहेका छन् ।