Ad Image

वीरगञ्जको मुख्य सडक विस्तारको काम सुरु, हटाइयो भन्सार क्षेत्रका संरचना

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/0-0-01.JPG

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

मुख्य सडक विस्तारको विरुद्ध स्थानीयले दायर भएको मुद्धा सर्वोच्चले गत फागुन २८ गते खारेज गरेसँगै सडक विभाग र जिल्ला प्रशासन कार्यालयको आग्रहपछि वीरगञ्ज महानगरपालिकाले आजबाट सडक क्षेत्रभित्र (२५\२५ मिटर) पर्ने संरचना हटाउन सुरु गरेको हो ।

महानगर प्रमुख राजेशमान सिंह स्वयं तीनवटा डोजरसहितको टोली लिएर भन्सार क्षेत्रबाट अभियान सुरु गर्न पुगेका थिए । विस्तार कार्य भन्सारदेखि गण्डक चोकसम्म निरन्तर अघि बढाइने मेयर सिंहले बताए ।

यो मार्ग वीरगञ्ज–पथलैया हाइवे तथा भारतको कोलकाता बन्दरगाहसँग जोडिने नेपालकै एक प्रमुख मालवाहक सडक हो । रक्सौल नाका हुँदै भित्रिने सवारी साधनको प्रवेशद्वार समेत भएको यस सडकको अव्यवस्थित अवस्था, अतिक्रमण र साँघुरोपनका कारण दैनिक ट्राफिक जाम, दुर्घटना र धुलो–धुवाँले नागरिक हैरान भइरहेका थिए ।

स्थानीय व्यापारी, युवाहरू र सामाजिक अभियन्ताहरूले सडक चौडा भएपछि वीरगञ्जको स्वरूप नै फेरिने बताउँदै अभियानप्रति समर्थन जनाएका छन् । यद्यपि सडक क्षेत्रमा भवन संरचना पर्ने केही स्थानीयवासीले भने उचित मुआब्जा नपाएको गुनासो गरेका छन् ।