Ad Image

शिक्षा विधेयकबारे मन्त्री पन्त भन्छन्– ‘परिपक्व हुन २–३ दिन पर्खनुहोस्’

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/raghuji-panta-minister.jpg

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने अवस्था नरहेको भन्दै केही दिन रोक्न आग्रह गरेका छन् ।

सोमबार बसेको शिक्षा समितिको बैठकमा मन्त्री पन्तले शिक्षक महासंघले अन्तिम समयमा केही असन्तुष्टि जनाएपछि परिस्थिति जटिल बनेको भन्दै विधेयक पारित प्रक्रियालाई केही दिन स्थगन गर्नुपर्ने धारणा राखे ।

बिहान साढे ८ बजे बोलाइएको बैठक दिउँसो करिब ४ बजे मात्र सुरु भएको थियो । बैठक अघि मन्त्री पन्तले शिक्षक महासंघका प्रतिनिधिसँग छलफल गर्नुका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरेका थिए ।

देउवासँगको छलफलपछि बैठकमा प्रवेश गरेकै साथ मन्त्री पन्तले विधेयक स्थगनको प्रस्ताव गरेपछि सांसदहरूले आपत्ति जनाएका थिए ।

सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पन्तले भने, “सरकारले अहिले नगर्नु भनेको विषय जबर्जस्ती गर्नु संसदीय अभ्यासमा पर्दैन। सरकारको हैसियतमा मन्त्रीले रोकौं भनेपछि विधेयक अघि बढ्दैन ।”

उनले केही विषय परिपक्व हुन समय लाग्ने बताउँदै दुई–तीन दिन पर्खन आग्रह गरे । “सबै मिलाएर जानु पर्ने हुन्छ, म विशेष आग्रह गर्छु,” उनले भने ।

साथै, पूर्वमन्त्रीद्वारा गरिएको नौ बुँदे सहमति कार्यान्वयन भइसकेको उल्लेख गर्दै उनले आन्दोलन नदोहरिने गरी समाधान खोज्ने प्रयास गरिरहेको बताए ।