‘शिक्षा विधेयकमाथि षड्यन्त्र हुँदैछ, सांसदहरू रबर स्ट्याम्प होइनन्’


काठमाडौँ । विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रियामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले थप समय मागेपछि सांसदहरूले आपत्ति जनाएका छन् ।
सोमबार बसेको शिक्षा समितिको बैठकमा मन्त्री पन्तले शिक्षक महासंघसँग थप छलफल आवश्यक रहेको भन्दै समय मागेपछि सांसदहरूले बैठक निरन्तर राखेर विधेयक टुंग्याउनुपर्ने माग गरेका हुन् ।
नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले शिक्षा मन्त्री र प्रमुख सचेतकले बैठक स्थगित गर्ने प्रस्ताव ल्याएकोप्रति असहमति जनाउँदै भनिन्, “उपसमितिको प्रतिवेदन आएको एक महिना बितिसकेको छ । अब छलफल गरेर टुंग्याउनु पर्ने बेला हो, तर अझै पनि महासंघसँग छलफल गर्नुपर्ने भन्दै समय मागिनु आपत्तिजनक हो।”
उनले शिक्षक महासंघको नाममा विधेयकलाई पछाडि धकेल्ने षड्यन्त्र भइरहेको आशंका व्यक्त गरिन् । “सांसदहरू रबर स्ट्याम्प होइनन्,” उनले थपिन् ।