पत्रकार पाठकविरुद्ध साइबर अपराधको मुद्दा दायर


काठमाडौं । साइबर अपराधको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।
यसअघि प्रहरीले उनलाई पक्राउ गर्न पूर्जी जारी गरे पनि उच्च अदालतको आदेशले पक्राउ नगर्न भनिएपछि उनलाई नियन्त्रणमा नलिइएरै प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत साइबर अपराधको आरोपमा एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।
साइबर ब्युरो ५९ नाममा दर्ता भएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले दफा ४७ बमोजिम ‘विद्युतीय स्वरूपमा गैरकानुनी सामग्री प्रकाशन’ गरेको आरोपमा मुद्दा दायर भएकाे छ ।
पीडित निवेदकले आफूविरुद्ध युट्युबमार्फत ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षक राखी, काठमाडौँस्थित हिल्टन होटलमा शाही अग्रवाल र दीपक भट्टको लगानी रहेको, र जयवीर देउवा (नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र) सो लगानीमार्फत जोडिएको भन्दै भ्रमपूर्ण सामग्री सार्वजनिक गरी घृणा र द्वेष फैलाइएको आरोप लगाएका छन् ।
अभियोगपत्रमा उक्त सामग्री प्रकाशन गर्न प्रयोग गरिएका कम्प्युटर, फ्लपी, सीडी, टेप ड्राइभ, सफ्टवेयर वा अन्य उपकरण जफत गर्न माग गरिएको छ । साथै, पीडितलाई उचित क्षतिपूर्ति दिलाउन पनि मागदाबी गरिएको छ ।