ढल निर्माणको ठेक्कामा अनियमितता प्रकरणः परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश


काठमाडौं । विशेष अदालतले ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सो आदेश गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दा दायर हुँदा अख्तियारले उनलाई अदालतमा उपस्थित गराएको थिएन। परियार बुधबार मात्र अदालत उपस्थित भएपछि इजलासमा बयान तथा थुनछेकसम्बन्धी बहस भएको थियो। परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ।
महानगरपालिकाका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। अदालतले निर्देशकद्वय बसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।