Ad Image

रौतहटमा लम्पी स्किनले पशु मर्न थाले, किसानलाई सहयोग गर्न नगरपालिकासँग आग्रह

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/lampi-skin.jpg

रौतहट । लम्पी स्किन रोगले रौतहटको चन्द्रपुर नगर क्षेत्रका पशु मर्न थालेका छन् । चन्द्रपुर नगर क्षेत्रमा केही दिनयता लम्पी स्किन रोगको कारण पशु मर्न थालेपछि किसान चिन्तित भएका छन् । 

उक्त रोगकै कारण गत असार १९ गते चन्द्रपुर–८ मर्धरटोलका कृष्ण गौतमको गाई मरेको चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख डा सुलभ चौधरीले जानकारी दिए । लम्की स्किन रोगको उपचार गर्दागर्दै गौतमको गाई मरेको उनले बताए । उनका अनुसार हालसम्म चन्द्रपुर नगरक्षेत्रका–४३ वटा गाई र एउटा भैँसीमा उक्त रोगको सङ्क्रमण देखा परेको छ । 

अहिलेसम्म चन्द्रपुर १ मा १०, नं २ मा २५ वटा, वडा नं ४ मा दुई वटा, ८ मा चार वटा र वडा नं १० मा १० वटा गाईमा र वडा नं ५ को एउटा भैँसीमा सो रोग सङ्क्रमण देखिएको डा चौधरीले जानकारी दिए । उनका अनुसार वडा नं ३ मा भने वडा कार्यालयको आफ्नै बजेटबाट करिब दुई हजार दुई सय ५० वटा गाई र भैँसीलाई लम्की स्किन रोगविरुद्धको भ्याक्सिन लगाइएको छ । 

त्यसैगरी वडा नं ९ ले पनि आफ्नै बजेटबाट एक हजार ६ सयभन्दा बढी पशुलाई सो रोगविरुद्धको भ्याक्सिन लगाएको उनले जानकारी दिए । पशुलाई उच्च ज्वरो आउने, डाबरका फोका देखापर्नेजस्ता यस रोगको लक्षण रहेको उनको भनाइ छ । गत वर्ष मात्रै लम्की स्किन रोगको कारण चन्द्रपुर नगर क्षेत्रमा एक सय ६० वटा गाईभैँसी मरेका थिए । खासगरी उन्नत जातको गाईमा यस प्रकारको रोग देखा परेको समेत उनले बताए । 

सबै वडामा सो रोगविरुद्धको खोप लगाउनका लागि पशुपालक किसानलाई आवश्यक सहयोग गर्न आफूले नगर प्रमुख सञ्जयकुमार काफ्लेलाई आग्रह गरेको उनले बताए । अहिले नगरभरीको पशुलाई उक्त रोगविरुद्ध १० हजार थान खोप आवश्यकता रहेको डा चौधरीले बताए । 

किसानले आफ्नै पैसाले पशुको उपचार गराइराखेका छन् । एउटा सो रोगविरुद्ध उपचार गर्नको लागि १० देखि १२ हजारसम्म खर्च हुन्छ । यो रोग सरुवा रोग भएकाले रोग लागेको पशुलाई छुट्टै राख्ने, गोठ सफा राख्ने, लामखुट्टेबाट जोगाउन डा चौधरीले किसानलाई आग्रह गरे ।