Ad Image

राप्रपामा आन्तरिक कलह: लिङ्देनविरुद्ध असन्तुष्ट पक्ष निर्वाचन आयोगमा

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/raparpa kalaha.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत नेताहरूलाई कारबाही गरेको भन्दै असन्तुष्ट पक्ष निर्वाचन आयोग पुगेको छ ।

पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशम्शेर राणा, र अनुशासन समितिबाट हटाइएका नवराज सुवेदी लगायतका नेताहरू अहिले आयोगसँग छलफलमा छन् ।

शनिबार भएको छुट्टै भेलाको निर्णय अनुसार संस्थापनइतर समूहले अध्यक्ष लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रियासम्मत नभएको आरोप लगाउँदै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णयविरुद्ध आयोग जाने निर्णय गरेको थियो । उनीहरूले लिङ्देनले विधान विपरीतका कार्य गरेको र मनोमानी रूपमा संगठन चलाएको आरोप लगाएका छन् ।

केही दिनअघि मात्रै अध्यक्ष लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै, नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए ।

राणा समूहले लिङ्देनको यो निर्णयलाई अवैधानिक भनेको छ । राप्रपाको विधान अनुसार केन्द्रीय समितिमा प्रस्ताव ल्याएर मात्र हटाउन सकिने व्यवस्था रहेकाले यो कदम अवैधानिक भएको इतर समूहको आरोप छ ।