Ad Image

पहलगाममा हमला गर्ने टीआरएफलाई अमेरिकाले गर्‍यो आतङ्कवादी सङ्गठन घोषणा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/donald.jpg

एजेन्सी । संयुक्त राज्य अमेरिकाले बिहीबार काश्मीरको पहलगाममा अप्रिलमा भएको आक्रमणका लागि दोषी ठहराइएको रहस्यमय समूह ’द रेजिस्टेन्स फ्रन्ट (टिआरएफ)’ लाई आतङ्कवादी घोषणा गरेको छ । यस आक्रमणले दशकौँमा भारत र पाकिस्तानबीच सबैभन्दा खराब द्वन्द्वलाई जन्म दिएको थियो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले टिआरएफलाई पाकिस्तानमा आधारित संयुक्त राष्ट्रसङ्घद्वारा नामित आतङ्कवादी समूह लश्कर–ए–तैयबा (एलइटी) को ’फ्रन्ट र प्रोक्सी’ को रूपमा वर्णन गरेका छन् । रुबियोका अनुसार यो घोषणाले ’राष्ट्रिय सुरक्षा हितहरूको रक्षा गर्न, आतङ्कवादविरुद्ध लड्न र पहलगाम आक्रमणको न्यायका लागि राष्ट्रपति ट्रम्पको आह्वानलाई कार्यान्वयन गर्न ट्रम्प प्रशासनको प्रतिबद्धता’ प्रदर्शन गर्छ ।

अप्रिलमा भारत प्रशासित काश्मीरको पर्यटकीय केन्द्र पहलगाममा बन्दुकधारीहरूले लगभग सबै हिन्दूसहित २६ जनाको गोली हानी हत्या गरेका थिए । बाँचेका व्यक्तिहरूले बन्दुकधारीहरूले महिला र बच्चाहरूलाई अलग गरी केही पुरुषलाई मुस्लिम आस्था घोषणा गर्न आदेश दिएको बताएका थिए ।

भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशङ्करले शुक्रबार वासिङ्टनको यो कार्यलाई ’भारत–अमेरिका आतङ्कवाद विरोधी सहयोगको बलियो पुष्टि’ भएको बताएका छन् ।

पहलगाम आक्रमणको सुरुमा जिम्मेवारी लिएको टिआरएफले पछि सार्वजनिक आलोचना बढेपछि आफ्नो दाबी फिर्ता लिएको थियो । भारतले पनि टिआरएफलाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरिसकेको छ भने भारतस्थित अब्जर्भर रिसर्च फाउन्डेसनले यसलाई ’स्मोकस्क्रिन र एलइटीको अफसुट’ भनेको छ । नयाँदिल्लीले पाकिस्तानमाथि आक्रमणलाई समर्थन गरेको आरोप लगाएको छ, जसलाई इस्लामाबादले अस्वीकार गर्दै आएको छ ।

पहलगाम हिंसाले दुई छिमेकीबीच चार दिनसम्म चलेको लडाइँलाई उक्साएको थियो, जसमा दुवै पक्षका ७० जनाभन्दा बढी मानिस मारिएका थिए । यो सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो ।