मुस्ताङको लार्जुङ बस्ती बाढीको उच्च जोखिममा, खोलाको ग्रेगान हटाइँदै


मुस्ताङ । थासाङ गाउँपालिका–२ स्थित लाङ्क्यु खोलामा जल सतह उच्च हुँदा लार्जुङ बस्तीका करिब १८ घर बाढीको उच्च जोखिममा परेका छन् । धौलागिरि आइसफलको फेदबाट बग्ने यो खोलामा पानीको बहाव बढेपछि मनसुन सुरु भएयता बस्ती चार पटक उच्च जोखिममा परेको हो ।
गत असार १६ र साउन ७ गते लाङ्क्यु खोलाको बहाव उच्च भएपछि लार्जुङबासी बाढीको त्रासमा रात बिताउन बाध्य भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास परियारका अनुसार, जिल्ला प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिलगायतले मध्यरातिसम्म डोजर चलाएर खोलालाई नियन्त्रणमा लिने प्रयास गरेका छन् ।
लाङ्क्यु खोलाको करिब ३०० मिटरभन्दा बढी दूरीमा नदीजन्य गेग्रान भरिँदा नदी उकास भई बस्ती जोखिममा परेको परियारले बताए । पालिकाले डोजर भाडामा लिएर करिब ३०० मिटर दूरीमा नदीजन्य उकास घटाउँदै खोलाको गहिराइ बढाउने काम गरिरहेको छ ।
थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले पुरानो झोलुङ्गे पुल र पक्की पुलसमेत बाढीले बगाउन सक्ने जोखिममा रहेको भन्दै तत्कालका लागि सम्भावित जोखिम न्यूनीकरण गर्न डोजर परिचालन गरी खोलाको सतह तल झार्ने काम भइरहेको बताएका छन् ।