Ad Image

माधव–झलनाथ झगडाले एकीकृत समाजवादीमा विभाजनको खतरा

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/madhav-jhalnath11.jpg

काठमाडौँ । नेकपा(एकीकृत) समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिचको झगडाले एकीकृत समाजवादीभित्र मौलाइरहेको विवादलाई थप मलजल गरेको छ । अध्यक्ष नेपालको कार्यशैलीप्रति पार्टीभित्र र सार्वजनिक रुपमै पनि तिव्र असन्तुष्टि पोख्दै आएका सम्मानित नेता खनालले केही दिन अघि एक सञ्चारमाध्यम सँगको अन्तर्वार्ताको क्रममा एमालेमा गरिएको विद्रोह पुष्टि नभएको टिप्पणी गरेपछि दुई नेताबीचको विवाद सतहमा आएको हो । नेताहरुले एकले अर्कोलाई पार्टी छोड्ने चेतावनी समेत दिएपछि पार्टीको भविष्यमाथि नै प्रश्न उब्जिएको छ ।

खनालको त्यो अन्तरर्वार्तापछि नेपालसँगको द्वन्द सतहमा

सम्मानित नेता खनालले केही दिन अघि इमेज टेलिभिजनको कार्यक्रम हट सिटमा पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्ताका क्रममा एमाले विभाजन गर्नुको औचित्य पुष्टि नभएको टिप्पणी गरे । उनी त्यतिमा मात्रै रोकिएनन् । एमाले विभाजन गर्नु नै गलत रहेको सम्म भन्न भ्याए । ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म । एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’ उनले अन्तरर्वार्ताको क्रममा भनेका छन् ।

हो, खनालको सोही बोलीले अध्यक्ष नेपालको मनमा चोट परेको छ । उनीपनि विगतदेखि नै खनालसँग असन्तुष्ट रहँदै आएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिवादी अहंकार, निरंकुशतावादी शैलीका कारण एमाले छोड्नुपरेको भन्दै नेपालले तत्कालिन पार्टी विभाजनको औचित्य पुष्टि भएको बताउने गरेका छन् । तर उनीमाथि खनालको मात्रै प्रश्न छैन अन्य धेरै नेता, कार्यकर्ताहरुको प्रश्न छन् । उनीपनि आलोचनाबाट मुक्त हुन सकेका छैनन् । खनालको यो प्रतिक्रियाले भने एकीकृत समाजवादीभित्रको अन्तरद्वन्दलाई क्लाइमेक्समा पुर्याएको छ ।

लगत्तै अध्यक्ष माधवकुमार नेपालले खनाल पार्टीमा बस्ने ठाउँ नरहेको प्रतिक्रिया दिए । उनले राजीनामा दिएर पार्टीबाट बिदा भएर जान चेतावनी समेत दिए । ‘पार्टीबाट बिदा गरिदिनुपर्छ । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नी । नैतिक अधिकार नै छैन ।’ शुक्रबार बिराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘उहाँले खुरुक्क राजीनामा दिनुपर्छ । बिदा भएर जानुपर्छ ।’

खनाल पार्टीको संस्थागत निर्णय उल्लंघन गर्ने कुरामा एक नम्बर भएको उनको आरोप थियो ।नेपालले पार्टी छोड्न चेतावनी दिएपछि खनाल पनि चुप लागेर बसेनन् । तुरुन्तै सञ्चार माध्यमहरुमार्फत् प्रतिक्रिया दिए । उनले अध्यक्ष नेपालले तानाशाह र निरंकुशतावादी नेताहरुले बोल्ने भाषा बोलेको भन्दै आपत्ति जनाए । आफ्नो करा चित्त नबुझे पार्टीभित्रै छलफल गर्न सकिने भन्दै सार्वजनिक रुपमा आदेश जारी गर्न नमिल्ने उनको भनाई छ । ‘पत्रकार सम्मेलनमार्फत् यसप्रकारको आदेश जारी गर्ने उहाँ कुनचाहिँ तानाशाह हो ?’ उनले प्रश्न गरे ।

नेपाल–खनालबिचको यो वादविवाद केवल वादविवादमा मात्रै सिमित छैन । यो विवाद पार्टीको दिशानिर्देश पनि हो । संग्रहित भएर बसेको असन्तुष्टिहरुको पराकाष्ठा हो । यसले अन्तत्ः पार्टी विभाजनसम्मको अवस्थामा पुर्याउने स्वयं एकीकृत समाजवादी पार्टीका नेताहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

खनाल मिसिएपछि झाँक्रि र आलेलाई राहत

नेकपा(एकीकृत समाजवादी)का सांसद प्रेम आले पनि अध्यक्ष नेपालसँग असन्तुष्ट छन् । उनी त आफु पार्टीको सदस्य नै नरहेको सार्वजनिक अभिव्यक्ति दिदैँ हिडेका छन् । आफु जनप्रतिनिधिको रुपमा सांसद मात्रै रहेको भन्दै सके सांसद पद पनि खोस्न उनले अध्यक्ष नेपाललाई चुनौती दिइरहेका छन् । यद्यपी उनीमाथि पार्टीले कुनै स्टेप चालेको छैन । उनीसहित एकीकृत समाजवादीका पाँच सांसद पार्टी फुटाउन तयार भएर बसेको पनि बताइन्छ । मेयरसापसँग कुरा गर्दै एकीकृत समाजवादीका अर्का एक सांसदले आफुहरु एकीकृत समाजवादी छोड्न उपयुक्त समयको पर्खाइमा रहेको बताए । नेपालको विरोधमा खनाल उत्रिएपछि आलेलाई राहत मिलेको छ ।

यता नेता रामकुमारी झाँक्रिले पनि अध्यक्ष नेपालविरुद्ध पतन्जली जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर भएसँगै नेपाललाई मरेको सिनोको संज्ञा दिदैँ अर्ली महाधिवेशन गरेर नेतृत्व फेर्नुपर्ने बताएकी थिइन् । उनलाई पार्टीले स्पष्टिकरण नै सोधेको छ । यसरी नेपाल विरुद्धको मत बढ्दै जाँदा भविष्यम संगठित रुपमा विष्फोट हुनसक्ने अवस्था छ ।

वामदेवले गर्न थाले भाँडभैलो    

नेकपा विभाजनपछि नेकपा राष्ट्रिय एकता अभियानको संयोजकको रुपमा रहेका वामदेव गौतम गत २ साउनमा एकीकृत समाजवादीमा समाहित भए । उनलाई पार्टीमा तेस्रो बरियता दिने सहमती भएको छ । तर शुक्रबारसम्म आइपुग्दा उनी एकीकृत समाजवादीसँग असन्तुष्ट भइसकेका छन् । अध्यक्ष नेपाल विरुद्ध पनि बोल्न सुरु गरिसके । उनले पार्टीमा संगठन विभाग प्रमुख माग गेका छन् । हाल सो विभागको प्रमुखको रुपमा बेदुराम भुसाल छन् । उनले भुसाललाई नै भेट गरी आफुलाई सो विभाग दिन आग्रह गरिसके । भुसाल उनलाई दिन तयार छैनन् । यसरी पार्टीभित्रको भागन्डाको विषयलाई लिएर वामदेव सार्वजनिक रुपमा टिप्पणी गर्न थालिसकेँ । 

माओवादीसँग एकताको पक्षमा माधव, अन्य नेता विरोधमा

अध्यक्ष नेपाल नेकपा(माओवादी केन्द्र)सँग एकता गर्नुपर्ने पक्षमा छन् । उनले एकताका लागि भन्दै नेकपा(माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर भेटवार्ता गरिरहेका छन् । उनी कार्यगत एकता हुँदै पार्टी एकतासम्म जान तयार छन् । तर खनाल लगायतका नेताहरु भने माओवादी केन्द्रसँगको एकताको पक्षमा छैनन् । उनीहरु बरु एमालेमा फर्किन तयार छन् । एमाले अध्यक्ष ओल एमालेको ढोका खोल्न तयार नदेखिएका कारण त्यता वार्ता हुन सकेको छैन । गत सोमबार प्रचण्ड माधवको भेटमा दुवै पार्टीका बागमती प्रदेशका केही नेताहरु समेत सहभागि थिए । प्रदेशस्तरमा भावनात्मक सम्बन्ध दह्रो बनाउँदै एकताको बाटोमा जाने सो दिन सहमती भएको थियो । अन्य प्रदेशका नेताहरुका बिचमा पनि सोही प्रकारको भेटघाट गर्दै जाने सहमतीका साथ सो बैठक उठेको थियो । यता, शुक्रबारदेखि जारी नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाका रहेका एकीकृत समाजवादी लगायतका दलहरुसँग एकता नजिक रहेको ब्रिफिङ गरेका थिए ।