Ad Image

धर्मदेखि विज्ञानसम्म ध्यानः बदलिन्छ शरीरको रसायनशास्त्र र जीन संरचना

User Image बद्री प्रकाश ओझा | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/badri ojha Dhyan.png

परापूर्व कालमा पूर्वमा ध्यान र धर्मलाई पर्यायवाचीका रूपमा लिइन्थ्यो । ध्यान गर्दै गएपछि भगवान खुशी हुन्छन् वा भगवानसँग साक्षात्कार गर्न पाइन्छ भन्ने धारणा थियो । ओशो र जे कृष्णमूर्ति बाहेकका पूर्वका सबै गुरूहरूले ध्यानलाई भगवानसँग जोडेका थिए । ओशोको अन्त्यसँगै पश्चिममा ध्यानबारे धेरै अनुसन्धान भए । जे कृष्णमूर्तिले भने आफ्नै जीवन कालमा कतिपय वैज्ञानिक अन्वेषणहरू देख्ने अवसर पाए ।

ध्यानलाई आधुनिक विज्ञानसँग जोड्ने श्रेय अस्ट्रेलियाका चिकित्सक डा. आइन्जली मेयर्स, अमेरिकी वैज्ञानिक डा. रिचार्ड डेभिड्सन र अर्का अमेरिकी चिकित्सक डा. जोन कबाट जिनलाई दिइन्छ । यी मध्ये डा. मेयर्सले नेपालमै बसेर ध्यान सिकेका थिए । उनीबारे अर्को अंकमा विष्तृत रूपमा चर्चा गरौला । यहाँ डा. जिनको बारेमा चर्चा गरौं । उनी अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक हुन् । उनले वर्मेली भिक्षु डा थिक न्ह्यात हन्हसँग विपश्यना ध्यान सिकेर यसलाई चिकित्सा विज्ञानसँग मिलाए । उनले आठ सातामा मनोरोगीलाई निको पार्ने विधी सुरू गरे । यसलाई माइन्डफुलनेस बेस्ट स्ट्रेस रिडक्सन (एमबीएसआर) नामाकारण गरे । यसपछि ध्यानले विज्ञानको बाटो समातेको हो । ध्यानबारे खासगरी सन् २००० पछि प्रसस्त अनुसन्धान भएका छन् । सन् २००५ सम्ममा हजारको हाराहारीमा अनुसन्धानात्मक लेखहरू प्रकाशित थिए भने यो क्रम बढेर सन् २०१५ सम्ममा १५ हजारको हाराहारीमा प्रकाशित भए ।सन् २०२५ मा आइपुग्दा २० हजारभन्दा बढी आलेखहरू प्रकाशित छन् ।

यी सबै अनुसन्धानले ध्यानले मनोवैज्ञानिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ भन्ने प्रमाणित गरेपछि हिजोका भागवान मान्नेहरूलाई फरक दृष्टिकोण दिइएको छ । त्यसपछि ध्यानलाई उपचारात्मक विधिका साथै वैज्ञानिक अनुसन्धानको योग्य विषयको रूपमा समेत प्रस्तुत गरिएको छ ।

ध्यानलाई आधुनिक विज्ञानले समातेपछि असाध्य रोग र मानसिक रोगको उपचारमा यसको उपयोग गर्न थालियो । यही अवस्था पूर्वमा प्राचीन कालदेखि नै थियो तर त्यसलाई ध्यानले नभई भगवानको कृपाका रूपमा हेरिन्थ्यो ।

पछिल्लो चार दशकमा तीव्र गतिमा बढेको अनुसन्धानले आज ध्यानलाई सर्वसाधारणले उपयोग गर्न सक्ने, मापन गर्न सकिने र आफूले चाहेका बेला अपनाउँन सकिने अभ्यासका रूपमा स्थापित गरेको छ । विज्ञानको आधार पनि यही हो । 

स्नायु प्रणालीमा ध्यानको प्रभाव
मष्तिष्कका तस्बिर लिने विभिन्न किसिमका न्यूरोइमेजिङ अध्ययनहरूले नियमित ध्यानले मस्तिष्कको संरचना परिवर्तन गर्ने देखाएका छन् । हार्वार्ड  तथा मासाचुसेट्स विश्व विद्यालयकी  मनोचिकित्सक डा सारा लाजरले यो अध्ययन गरेकी थिइन् । यस अध्ययनमा मष्तिष्कका भागहरू प्रिफ्रन्टल कोर्टेक्स र इन्सुलामा कर्टिसल थिकनेस बढेको प्रमाणित भएको छ । त्यसपछि उनले डा. ब्रिटा होल्जेलसँग मिलेर सन् २००५ मा अर्को पनि अध्ययन गरिन् ।

अध्ययनपछि  उनीहरूले बिरामीमाथि आठ साता लामो एमबीएसआर ध्यान कार्यक्रम पनि अपनाए । यसपछि ती ध्यान गर्नेहरूमा मष्तिष्कको हिपोक्याम्पस भागमा खैरो पदार्थ बढेको र अमिगडालाको घनत्व घटेको पाइएको थियो ।

यल विश्व विद्यालयका मनोविज्ञानका प्राध्यापक डा. जड्सन ए ब्रिवरले लत बस्ने, बढी रिसाउँने र खानेकुरा बढी खाएको पनि जानकारी नहुने समस्या भएका मानिसहरू माथि एमीएसआर प्रयोग गर्दा लामो समय ध्यान गरेका सहभागीहरूको मष्तिष्कको डिफल्ट मोड नेटवर्कका गतिविधिमा कमी आएको पाइएको थियो . डीएमएनमा आउँने उतार चढावले मानिसलाई चिन्तित पार्दछ ।  

ध्यानको शारिरीक तथा मनोवैज्ञानिक प्रभाव
अध्ययन अनुसार ध्यानले मष्तिष्कको पारासिम्पेथेटिक नर्भस सिस्टमलाई सक्रिय बनाउँछ । यसका साथै यसले एचपीए एक्सिस भनिने भागको सक्रियतालाई पनि कम पार्दछ ।टेक्सास टेक विश्व विद्यालयका स्नायुविज्ञ डा युवान ताङले ४० जना चिनियाँ मूलका विद्यार्थीमाझ इन्टिग्रेटिभ बडी—माइन्ड ट्रेनिङ ,आईबीएमटी ध्यान विधिको प्रयोग गरे । उनले विद्यार्थीलाई पाँच दिनसम्म दैनिक २० मिनेटका दरले यो ध्यान गराएका थिए । यसबाट ती विद्यार्थीको मष्तिष्कको पारासिम्पेथेटिक नर्भस सिस्टमलाई सक्रिय बनाएको पाए  । यसका साथै यसले एचपीए एक्सिस भनिने भागको सक्रियतालाई पनि कम पारेको निष्कर्ष निकालेका थिए ।  

प्रतिरक्षा प्रणालीमा प्रभाव
अमेरिकाको म्याडिसनस्थित विस्कन्सिन विश्व विद्यालयका प्राध्यापक डा रिचार्ड डेभिड्सन र मासाचुसेट्सका प्राध्यापक डा. जोन कबाट जिनले गरेको अनुसन्धानमा एमबीएसआरको अभ्यासपछि मष्तिष्कको बायाँ भागमा रहेको प्रिफ्रन्टल तन्तु समूहलाई क्रियाशिल पारेको थियो । यस भागले मानिसलाई सकारात्मक सोच विकास गर्न सहयोग गर्दछ । उनीहरूले इन्फ्लुएन्जाको खोप लिएकाहरूमा यो ध्यान विधि अपनाउँदा उच्च मात्रामा एन्टिबडी उत्पादन भएको थियो । यसबाट उनीहरूले ध्यानले शरीरमा रोगसँग लड्ने शक्ति बढाउँछ भन्ने निष्कर्ष निकालेका थिए ।

मानसिक रोगमा ध्यानको प्रयोग
जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक डाक्टर माधव गोयल र उनका १६ जना सहकर्मी मनोचिकित्सकहरूले सन् २०१४ मा मानसिक रोगमा ध्यानले कसरी काम गर्दछ भन्नेबारे अनुसन्धान गरेका थिए । 
यस अनुसन्धानमा ध्यानले कुण्ठा, तनाव, चिन्ता, पीडा लगायतका मनोरोगीमा औषधीले जत्तिकै गहिरो असर पारेको थियो । 

लतबाट छुटकारा पाउँन ध्यानको उपयोग
ओरेगनस्थित प्यासिफिक विश्वविद्यालयकी सहप्राध्यापक डा सराह ओवेनले आफ्ना विद्यावारिधीका निर्देशक तथा अन्य सहकर्मीहरूसँग मिलेर नसालु पदार्थको लतबाट मुक्त भएकाहरूलाई सोही अवस्थामा नियमित रूपमा अड्याएर राख्न के गर्नुपर्दछ भन्नेबारे माइन्डफुल बेस्ट रिल्याप्स प्रिभेन्सन , एमबीआरपी ध्यान पद्दती विकास गरिन् ।

अमेरिकीहरूले प्रायजसो आठ साताका लागि ध्यानका कार्यक्रमहरू विकास गरेका छन् । पूर्वमा भने ध्यानका कार्यक्रम एक, तीन, सात र २१ दिनका लागि विकास गरिन्छ । पूर्वीय दर्शनमा समयलाई चक्र आकारमा वर्णन गरिन्छ । त्यसैले २४ घन्टाको एक चक्र मानी ध्यानका विधीहरू बनाइन्छ ।

नसाको लतमा फसेकाहरूलाई त्यस अवस्थाबाट बाहिर ल्याउन वा उपचारमार्फत लतमुक्त भएकाहरूलाई सोही अवस्थामा राखिराख्नका लागि मष्तिष्कको विभिन्न पाँच भागमा प्रभाव पार्नुपर्ने चिकित्सा विज्ञानको तर्क छ । 

सोही तर्कमा आधारित रहेर एमबीआरपी अभ्यास गर्दा आठ सातामा मष्तिष्कको प्रिफ्रन्टल कोर्टेक्समा दख्खल दिइएको थियो । यस भागले हामीलाई निर्णय क्षमता, नियन्त्रण कला तथा एकहोरो पनबाट मुक्त हुने आदि मानसिक क्षमता प्रदान गर्दछ । 

यसैगरी यस ध्यान विधिको उपयोगमार्फत मानिसको मष्तिष्कको एन्टेरियर सिंगुलेट कोर्टेक्समा पनि असर पार्दछ । यस भागले हामीलाई संवेग व्यवस्थापन, गल्ती पत्ता लगाउने र आत्म अनुशासनको पाठ सिकाउँछ । 
यसैगरी यस ध्यानमार्फत हाम्रो मष्तिष्कको इन्सुलर कोर्टेक्स नामक भागमा दख्खल दिइन्छ । यस भागले हामीलाई अनावश्यक प्यास बढाउँछ । यसलाई व्यवस्थापन गर्दा हामीमा  आवश्यक कामना मात्र पैदा हुन्छ ।
एमबीएआरपीले मष्तिष्कको अर्को अंग अमिगडालामा पनि असर पार्दछ । यस अंगको काम संवेग र त्राससम्बन्धी जानकारी प्रवाह गर्ने हो । अमिगडाला अनावश्यक रूपमा बढेमा नचाहिँदो गरी दिमागमा त्रास र बैचैनी उत्पन्न हुन्छ ।

ध्यानले हाम्रो मष्तिष्कको डिफल्ट मोडेल नेटवर्क क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउँछ । डिएमएनमा आउने गिरावटले हामीलाई अनावश्यक रूपमा सोच्ने, हुँदै नभएको विषयमा चिन्ता लिने विगत समझेर झोक्राउने आदि समस्या उत्पन्न गर्दछ । डिएमएनको उचित व्यवस्थापनले हामीलाई वर्तमानमा जिउने कला सिकाउँछ । 

अनुवंशमा ध्यानको प्रभाव
स्पेनको बार्सिलोनास्थित जैविक चिकित्सा अनुसन्धान केन्द्रकी प्राध्यापक डा. पेर्ला क्यालिम्यान र उनको समूहका सहकर्मीले गरेको अनुसन्धान अनुसार विपश्यना ध्यानले हाम्रो शरीरमा एचडीएसी जिनमा प्रभाव पार्दछ । यस अनुवंशीय कोष समूहले हामीलाई चिन्ता र तनावमा धकेन्छ । नियमित रूपमा ध्यान गर्नाले यी कोषहरू व्यवस्थित भई चिन्ता घट्न सहयोग पुग्छ ।

यस समूहले गरेको अनुसन्धानमा आधारित रहेर सानफ्रान्सिस्कोस्थित क्यालिफोर्निया विश्वविद्यालयकी प्राध्यापक डा.एलिसा स्पेल र उनका साथीहरूले थप अध्ययन गरी ध्यानका कारण मानिसको कोषमा बुढ्यौलीपन नियन्त्रण गर्ने तथ्य थपेका छन् । 

अनुसन्धानको मापदण्डमा ध्यान
ध्यान सम्बन्धी अनुसन्धानहरूमा नमूना परीक्षण, मष्तिष्कको चित्र खिच्ने , जैविक परीक्षण र जीनको अवस्थामा आउने परिवर्तनबारे प्रशस्त अनुसन्धान भएका छन् . यी सबै वैज्ञानिक प्रमाणले ध्यान तथ्यमा आधारित एक विधि भएको देखाउँछ ।  

विज्ञान र प्रविधिको विकाससँगै ध्यानले आध्यात्मिक अभ्यासको दायराबाट  माथि उठी वैज्ञानिक प्रमाणमा आधारित अध्ययनको क्षेत्र समातेको छ । यसले मस्तिष्कको संरचना रूपान्तरण गर्छ, तनाव प्रतिक्रिया व्यवस्थापन गर्छ, मानसिक रोग सुधार गर्छ, प्रतिरक्षा प्रणाली सुधार गर्छ, र जीन स्तरमै असर गर्छ। ध्यानले वैज्ञानिक आधार लिएका कारण अब यसले प्रमाणित, दोहोर्याएर अभ्यास गर्न सकिने अवस्था र औपचारिक रूपमा लागू गर्न सकिने अभ्यासका रूपमा आफूलाई स्थापित गरेको छ ।