बैंक जमानतमा रिहाइको माग गर्दै रविले दिए अदालतमा निवेदन


रुपन्देही । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम उनले धरौटी वा बैंक जमानत बुझाएर थुनामुक्त हुन पाउनुपर्ने माग राखेका हुन् ।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीमाथि एकमुष्ट १० करोड ९९ लाख रुपैयाँ बिगो कायम गरिएको छ । लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम बैंक जमानतमा राखेर रिहा हुन खोजेको बुझिएको छ ।
यसअघि माघ १३ गते जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरे पनि सरकारले पुनरावलोकन गरेपछि चैत २२ गते उच्च अदालत तुलसीपुरले जिल्लाको आदेश बदर गर्दै उनलाई थुनामा पठाएको थियो ।
सो आदेशविरुद्ध सर्वोच्च अदालत गए पनि त्यहाँबाट पनि उच्च अदालतको फैसला सदर भएपछि लामिछाने चैत २५ गतेदेखि रुपन्देही कारागारमा छन् ।
Facebook Comments