मृ*त्यु संस्कारमा कनकाई नगरपालिकाले नगद सहयोग गर्ने


झापा । जिल्लाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ । चालु आर्थिक वर्ष देखि सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने संस्कार भएकाले सरहे कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
‘नगरपालिका नगरवासीको अभिभावक संस्था हो’, पोखरेलले भने, ‘परम्परादेखि चलिआएको सरहे प्रथालाई मृत्यु संस्कारमा गरिनुपर्ने कर्मका निमित्त सहज बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ ।’
दुःख र पीडा परेका बेलामा परिवारसँग प्रत्यक्ष भेटेर समवेदना तथा सरहे उपलब्ध गराउँदा दुःखमा थोरै भए पनि सहानुभूति हुने नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले विश्वास व्यक्त गरे ।
कार्यक्रमअन्तर्गत समवेदनपत्रसहित नगद रु पाँच हजार आर्थिक सहयोग प्रदान गरिने उनले जानकारी दिए ।
नगरपालिकाको यही साउन ११ गते बसेको कार्यपालिका बैठकले ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि–२०८२’ स्वीकृत गरेको थियो ।
Facebook Comments