बालेन भोली दिल्ली उड्दै, ५२ व्यवसायी पनि सँगै, विमानस्थलमा राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने

User Image मेयरसाप डेस्क | २०८३ मंसिर ०५ गते ११:३७
Image of https://mayorsap.com/storage/photos/shares/balen-new-f8a9dd1c.jpg

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भोलि आइतबार भारतको राजकीय भ्रमणमा निस्कँदै छन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो । नेपाल वायुसेवा निगमको विमान चढेर दिउँसो १ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले उनलाई स्वागत गर्नेछन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो भेट भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुनेछ । त्यसपछि मंसिर ७ गते भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट र प्रधानमन्त्री मोदीले आयोजना गर्ने औपचारिक दिवाभोजको कार्यक्रमसमेत तय भएको छ ।

भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासजस्ता क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ । नेपाल र भारतबीचको विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषय पनि वार्ताको प्राथमिकतामा रहनेछ ।

प्रधानमन्त्री शाहसँगै ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत जानेछ । टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेञ्जाकारसहित उच्च सरकारी अधिकारी रहनेछन् ।

त्यस्तै, प्रधानमन्त्रीको भ्रमणमा ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका संस्थाका प्रतिनिधिहरू टोलीमा रहनेछन् । तर, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई भने अन्तिम समयमा भ्रमण टोलीबाट हटाइएको छ । परराष्ट्र मन्त्रालयले विशेष परिस्थितिमा स्थान अभाव भएको भन्दै उनको मनोनयन रद्द गरेको जनाएको छ ।

भ्रमणकै क्रममा भोलि आइतबार साँझ ७ बजे नयाँ दिल्लीस्थित होटल ताजमहलमा नेपाल–भारत बिजनेस राउन्ड टेबल आयोजना हुँदैछ । कार्यक्रममा नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्नेछन् । तर, यसअघि सहभागी हुने भनिएका भारतका उद्योग तथा वाणिज्यमन्त्री पियुष गोयल भने कार्यक्रममा उपस्थित नहुने भएका छन् । अर्थात्, नेपाली मन्त्रीहरूले सम्बोधन गर्ने यो व्यवसायिक कार्यक्रममा भारतीय सरकारका मन्त्रीको सहभागिता रहने छैन ।

प्रधानमन्त्रीको भ्रमणसँगै हुने यो व्यवसायिक भेटघाटले दुई देशबीच व्यापार र लगानी विस्तारमा कस्तो परिणाम दिन्छ भन्ने चासो पनि छ । भारत नेपालको ठूलो र महत्त्वपूर्ण विकास साझेदार भएकाले यो भ्रमणलाई आर्थिक सहकार्य र द्विपक्षीय सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ । प्रधानमन्त्री शाह मंसिर ७ गतेका औपचारिक कार्यक्रम पूरा गरेर सोही दिन स्वदेश फर्कनेछन् । 


Facebook Comments