नेताकाे चाकडी गर्ने कर्मचारीलाई गृहमन्त्रीकाे चेतावनी ! स्वागतमै झड्का !
मेयरसाप डेस्क
|
२०८३ मंसिर ०५ गते ११:३०
काठमाडौं । नेताको चाकडी गर्ने कि जनताको सेवा गर्ने ? सरकारी कर्मचारीलाई गृहमन्त्री सुधन गुरुङको स्पष्ट चेतावनी छ– दलको झोला बोकेर नेताको चाकडी गर्ने छुट कसैलाई छैन, पदीय जिम्मेवारी बिर्सेर यस्तो काम गर्नेलाई कानुनबमोजिम कडा कारबाही हुन्छ ।
गृहमन्त्री गुरुङको यो चेतावनी त्यतिबेला आएको छ, जतिबेला केही दिनअघि मात्रै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विमानस्थलमा स्वागत गर्न पुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकृत पक्राउ परेका थिए ।
रुसको मस्कोमा आयोजित विश्व सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका प्रचण्डलाई स्वागत गर्न नेकपाका नेताहरू अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङसहित प्राधिकरणका वरिष्ठ अधिकृत सुवास कोइराला पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा पुगेका थिए ।
संयोग कस्तो भने, सोही दिन गृहमन्त्री सुधन गुरुङ पनि संयुक्त अरब इमिरेट्समा आयोजित विश्व प्रहरी शिखर सम्मेलनबाट फर्किएका थिए । विमानस्थलमा प्रचण्डलाई स्वागत गर्न सरकारी कर्मचारीसमेत लाइनमा बसेको देखेपछि गृहमन्त्री आक्रोशित बनेको र तत्काल पक्राउ गर्न प्रहरीलाई आदेश दिएको विवरण सार्वजनिक भएको छ ।
त्यसपछि प्रहरीले ४५ वर्षीय इलेक्ट्रिक इन्जिनियर कोइरालालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त गौशाला पुर्याएको थियो । दिनभर सोधपुछ गरेपछि उनलाई सोही दिन साँझ रिहा गरिएको थियो । सरकारी कर्मचारीले पदीय मर्यादाविपरीत राजनीतिक नेतृत्वको स्वागत गरेको भन्दै गृहमन्त्री विमानस्थलका अधिकारीसँगसमेत असन्तुष्ट बनेको समाचारमा उल्लेख छ ।
यही घटनाको केही दिनपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत फेरि कर्मचारीलाई कडा सन्देश दिएका छन् । उनले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको बताएका छन् ।

आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुने उनको चेतावनी छ । कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा राख्दै जनताको सेवामा केन्द्रित गराउने सरकारको नीति रहेको उनको भनाइ छ ।
Facebook Comments