चीनमा नयाँ याल्टा सम्मेलन ?, ट्रम्प, पुटिन र सीबीच के भयाे ?
मेयरसाप डेस्क
|
२०८३ मंसिर ०४ गते ०९:१५
एजेन्सी । विश्व राजनीतिमा एउटा यस्तो दृश्य देखिएको छ, जसले दोस्रो विश्वयुद्धको अन्त्यतिर भएको ऐतिहासिक याल्टा सम्मेलनको सम्झना गराएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ एउटै टेबलमा बसेर विश्व शान्ति र सुरक्षाबारे छलफल गरेका छन्। तीनै नेताको यो पहिलो प्रत्यक्ष त्रिपक्षीय बैठक हो।
चीनको सेनझेनमा एपेक शिखर सम्मेलनको साइडलाइनमा बिहीबार भएको यो बैठक करिब ९० मिनेट चलेको थियो। बैठकपछि तीन देशले संयुक्त रूपमा ‘शान्तितर्फको घोषणा’ जारी गरे। घोषणामा परमाणु युद्ध जित्न नसकिने र यस्तो युद्ध कहिल्यै लड्न नहुने उल्लेख छ। परमाणु जोखिम घटाउने र परमाणु हतियारको प्रसार रोक्ने विषयमा संवाद गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
त्यस्तै, तीन देशले संयुक्त राष्ट्रसंघमा सुधार, पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने र अन्तर्राष्ट्रिय फौजदारी अदालतलगायत संस्थाले आफ्नो अधिकार क्षेत्रको दुरुपयोग गर्न नहुने विषयमा सहमति जनाएका छन्। युक्रेन युद्ध पुटिनकै मुख्य प्राथमिकतामध्ये एक भए पनि तीन नेताले जारी गरेको संयुक्त घोषणामा त्यसको नामसमेत छैन। इरानसँगको युद्धबारे पनि कुनै ठोस सहमति उल्लेख छैन।
सन् १९४५ फेब्रुअरीमा दोस्रो विश्वयुद्ध अन्त्यतिर पुग्दै गर्दा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिन क्रिमियाको याल्टामा भेला भएका थिए। उनीहरूलाई ‘बिग थ्री’ भनिन्थ्यो। त्यो बैठकमा युद्धपछि विश्व व्यवस्था कस्तो हुने भन्ने विषयमा निर्णय गरियो। जर्मनीलाई चार शक्तिको नियन्त्रण क्षेत्रमा बाँड्ने, संयुक्त राष्ट्रसंघ स्थापना गर्ने र पूर्वी युरोपमा निर्वाचन गराउनेजस्ता विषयमा सहमति भएको थियो।
तर याल्टामा गरिएका प्रतिबद्धतामध्ये पूर्वी युरोपमा स्वतन्त्र निर्वाचन गराउने वाचा पूरा भएन। सोभियत संघले त्यहाँ आफ्नो प्रभाव विस्तार गर्दै कम्युनिस्ट शासनलाई समर्थन गरेपछि पश्चिमी देशसँग अविश्वास बढ्यो। यही तनावले शीतयुद्धको जग बसाल्यो।
अहिले ट्रम्प, पुटिन र सी एउटै टेबलमा बस्दा कतिपय देशमा फेरि त्यस्तै आशंका बढेकाे देखिन्छ । ठूला शक्तिहरूले साना देशको भविष्य उनीहरूको सहभागिताबिनै तय गर्न खोज्दै त छैनन् भन्ने आशंका बढेकाे छ ।
तीन नेताका प्राथमिकता पनि एउटै छैनन्। ट्रम्प परमाणु हतियारको जोखिम घटाउने र इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा चीन र रुसको भूमिका खोजिरहेका छन्। पुटिन भने युक्रेन युद्ध आफ्नो अनुकूलतामा टुंग्याउन चाहन्छन्। चीनका राष्ट्रपति सी आफूलाई विश्व शक्तिहरूबीचको निर्णायक मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजिरहेका छन्।
पुटिनका लागि यो बैठक अर्को अर्थमा पनि महत्त्वपूर्ण छ। युक्रेन युद्ध र अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जीका कारण पश्चिमी देशसँगको सम्बन्ध तनावपूर्ण भइरहेका बेला अमेरिकी राष्ट्रपतिसँगै चीनका राष्ट्रपतिसँग एउटै मञ्चमा देखिनु उनको अन्तर्राष्ट्रिय हैसियतका लागि राजनीतिक उपलब्धि हो। घोषणामा सरकारी अधिकारीहरूको उन्मुक्ति र अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकार क्षेत्रबारे उठाइएको विषयले पनि थप बहस सिर्जना गरेको छ।
Facebook Comments