माओवादी केन्द्रसँग एकता गर्न विप्लवको अनिच्छा !


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तत्कालका लागि नेकपा माओवादी केन्द्रसँग एकता गर्न अनिच्छा देखाएको छ ।
विगतमा नेकपाले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय पार्टी बैठकबाटै गराउँदा पनि एकता हुन सकेको थिएन । पछि माओवादी केन्द्र एकताका लागि गम्भीर नभएको भन्दै सो पार्टीले तत्कालका लागि एकता सम्भव नभएको निष्कर्ष निकालेको थियो ।
गत १६ देखि १९ साउनसम्म बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियाे । माओवादी केन्द्रको निर्णयपछि पनि नेकपाभित्र एकताका लागि उत्साह नदेखिएको हो ।
मेयरसाप डटकमसँग कुरा गर्दै नेकपाका एक पोलिटब्युरो सदस्यले माओवादी केन्द्रसँग तत्कालै एकता हुन नसक्ने जानकारी दिए ।
उनले माओवादीको निर्णय सकारात्मक भए पनि सो निर्णयको विषयमा पार्टीमा बृहत् छलफल गरेर मात्रै निष्कर्षमा पुगिने उनको भनाइ छ ।
विगतमा एकताका लागि तत्पर देखिएको नेकपा अहिले माओवादीले निर्णय गरिसकेको अवस्थामा भने पछि हटेको छ
माओवादी भित्रको विवादले नेकपा सशंंकित
माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माकाबीच विवादचुलिँदा नेकपा एकताको लागि तयार नभएको बुझिएको छ । पछिल्लो समय शर्मा र विप्लवबीच पनि भेटघाट भइरहेको छ ।
तत्काल माओवादी केन्द्रसँग एकता गर्दा शर्मालाई काउन्टर दिनका लागि विप्लवलाई भित्राइएको सन्देश जाने भएकाले पछि हट्ने सङ्केत देखिएको विप्लव निकट नेताहरू बताउँछन् ।
यता, माओवादीले एकता गर्नका लागि नभई नेकपालाई भुलाउनका लागि एकताको कार्ड फालेको नेकपाका एक नेताको भनाइ छ । ‘आशङ्का निवारण भयो भने एकता होला तर तत्कालै सम्भव छैन’, ती नेताले भने ।
Facebook Comments