घुसकाण्डमा पूर्वअख्तियार आयुक्तको मुद्दा ६ महिनापछि सुनुवाइ हुँदै


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकको ७८ लाख रुपैयाँ घुससम्बन्धी भ्रष्टाचार मुद्दा ६ महिनापछि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ ।
नेपाल इन्जिनियरिङ कलेजको अनियमितता मिलाइदिने भन्दै पाठकले ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि उनी महाअभियोगको डरले राजीनामा दिन बाध्य भएका थिए ।
कलेजको अनियमितता मिलाउन १ करोड ६० लाख रुपैयाँको डिल भए पनि सुरुमा दुई चरणमा ७८ लाख रुपैयाँ घुस दिएको अडियो र भिडिओ सार्वजनिक भएको थियो ।
यस मुद्दामा अख्तियारले पाठक र कलेजका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । विशेष अदालतले दुवैलाई ३–३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
विशेष अदालतले घुसको प्रयास गरेको आरोपमा मात्र दोषी ठहर गर्दै आधा सजाय गरेपछि अख्तियारले थप सजायको माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
Facebook Comments