आज जेनजी समूहसँग वार्ता हुँदै


काठमाडौं । जेनजी समूहसँग आज औपचारिक वार्ता हुँदैछ । मंगलबार राति प्रधानसेनापति अशोकराज सिग्देलसँग अनौपचारिक छलफल भएको थियो । नेपाली सेनाले वार्तामा बस्नका लागि प्रतिनिधिको नाम पठाउन जेनजी समूहलाई आग्रह गरेको छ। प्रतिनिधिको नाम पठाउन जेनजी समूहभित्र अहिले छलफल भइरहेको छ।
जेनजी समूहले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, रास्वपा सांसद सुमना श्रेष्ठ लगायतसँग छलफल गरेका छन्। तर सांसद श्रेष्ठले आफू पार्टी विशेषमा आबद्ध भएकाले जेनजीका तर्फबाट वार्तामा बस्न असमर्थ रहेको जनाएकी छन्।
यसैगरी गत चुनावमा डडेल्धुरामा चुनाव लडेका सागर ढकालको नाम पनि छलफलमा छ। यस्तै आन्दोलनमा सक्रिय भएका जेनजीका अन्य समूहभित्र पनि प्रतिनिधि पठाउने विषयमा कुराकानी भइरहेको छ।
वार्तामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह जेनजीका तर्फबाट प्रस्तुत हुन्छन् या बेग्लै सहभागिता जनाउँछन् भन्ने यकिन भइसकेको छैन। नेपाली सेनाको सहजीकरणमा वार्ता गर्ने र निकासको खोजी गर्ने तयारी भइरहेको छ।
Facebook Comments