इन्सपेक्टर विमला कुमारी कठायतले यसरी जोगाइन पशुपतिनगर र यस मातहतका प्रहरी चौकी

हेटौंडा उपमहानगरपालिका पूर्ण रुपमा सुरक्षित

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c6b0eb7d15a.jpg

काठमाडौं । भदौ २३ र २४ गते देशव्यापी रुपमा भड्किएको आन्दोलनले नेपालको सुरक्षा संयन्त्रलाई अभूतपूर्व संकटमा धकेल्यो । प्रहरी कार्यालय मात्र होइन, सवारीसाधन, फर्निचरदेखि सिपाहीका लत्ताकपडा समेत जलाइए । राष्ट्रका सुरक्षासँग गाँसिएका संरचनाहरू ध्वस्त पारिए, जसले सम्पूर्ण मुलुकलाई स्तब्ध बनायो ।

तर, मकवानपुर जिल्ला अन्तर्गतको इलाका प्रहरी कार्यालय पशुपतिनगर र यस मातहतका चौकीहरू भने सुरक्षित रहन सफल भए । इतिहासले देखाएको छ-जनताको विश्वास र सुरक्षाकर्मीको प्रतिबद्धता जहाँ एकआपसमा मिसिन्छ, त्यहाँ विनाशकारी शक्ति निष्प्रभावी हुन्छ । पशुपतिनगर यसको जीवन्त प्रमाण बनेको छ ।

इलाका प्रहरी कार्यालयलाई जोगाउन कार्यालय प्रमुख प्रहरी निरीक्षक विमला कुमारी कठायतले देखाएको नेतृत्व, संयम, रणनीति र त्यहाँ कार्यरत प्रहरीहरूको अनुशासन निर्णायक सावित भयो । कठायतले स्थानीय समुदायसँग विगतदेखि नै मैत्रीपूर्ण र विश्वासपूर्ण सम्बन्ध विकास गरेकी थिइन् । यही सम्बन्धका कारण आन्दोलनको आगो फैलिँदा स्थानीय बासिन्दाहरू प्रहरीसँगै उभिए । “प्रहरी मेरो साथी” भन्ने अवधारणा व्यवहारमै मूर्त रूप लिन सफल भयो ।

संवेदनशील क्षेत्रको चुनौती

हेटौंडा उपमहानगरपालिकाको १० वटा वडा इलाका प्रहरी कार्यालय पशुपतिनगर मातहतमा पर्छन् । यही क्षेत्रमा हेटौंडा औद्योगिक क्षेत्र, हेटौंडा सिमेन्ट, शिवम सिमेन्ट र रिद्धिसिद्धि सिमेन्ट उद्योगजस्ता ठूला उद्योग अवस्थित छन् । बागमती प्रदेश सरकारका मन्त्रीहरूको निवास पनि यही क्षेत्रमा पर्दछ । अझ गम्भीर कुरा, नेपालकै धेरै अपराधजन्य गतिविधिहरू हुने पदमपोखरी क्षेत्र पनि यहीँ छ ।

यस्तो संवेदनशील क्षेत्रमा आन्दोलनकारीले उद्योग, मन्त्री निवास र प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गर्दा कठायतले अपनाएको संयम र ‘यो सम्पत्ति तपाईहरुकै हो’ भन्ने चेतनामूलक अपिलले आक्रोशलाई शान्त पार्‍यो ।

सतर्कता र रणनीतिक निर्णय प्रभावकारी

२०८२ भदौ २४ गते बिहानैदेखि आन्दोलन सुरु हुनासाथ इप्रका पशुपतिनगर मातहतका सबै प्रहरीलाई उच्च सतर्कतामा राखियो । कार्यालयमा रहेका प्रत्येक भौतिक सामग्री र हतियारलाई व्यक्तिगत जिम्मेवारीसहित प्रहरीहरूलाई हस्तान्तरण गर्ने निर्णय लिइयो । आन्दोलनकारी मन्त्री निवासमा छिर्न खोज्दा सम्झाइ–बुझाइ गरेर फर्काइयो । यसरी, प्रहरी कार्यालय मात्र नभई उद्योग, मन्त्री निवास र समुदाय समेत सुरक्षित राखिएको थियो ।

हेटौंडा उपमहानगरपालिका–१५ को वडा कार्यालयमा सामान्य भौतिक क्षति भए तापनि अन्य सबै क्षेत्रमा पूर्ण सुरक्षा रहनु, र इलाका प्रहरी कार्यालय पशुपतिनगर मातहतका आठ वटा प्रहरी कार्यालयहरूको पूर्ण संरक्षण हुनु, प्रहरी निरीक्षक विमला कुमारी कठायतको दूरदर्शी नेतृत्वकै प्रतिफल भएको पाइएको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी निरीक्षक विमला कुमारी कठायतले देखाएको नेतृत्व र उदाहरणीय सहकार्य केवल मकवानपुरको सीमाभित्र मात्र सीमित छैन, यो त सम्पूर्ण मुलुकका लागि सुरक्षा र सहकार्यको नयाँ दिशानिर्देशक बनेको छ । संकटको घडीमा समुदायसँग जोडिएको विश्वास, संयमित नेतृत्व र राष्ट्रप्रतिको कर्तव्यनिष्ठाले कसरी विध्वंसलाई रोक्न सक्छ भन्ने सन्देश पशुपतिनगरले सम्पूर्ण देशलाई दिएको छ ।


Facebook Comments