देशभरका ४० गाउँपालिकाका प्रशासकीय भवन र ८४ वटा वडा कार्यालय क्षतिग्रस्त

१० जना गाउँपालिका जनप्रतिनिधि बने घरबिहीन

User Image अम्बिका खड्का | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c95e79e7cc5.jpg
तस्बिर: राहुल कुमार ढकाल

काठमाडौं । झापा जिल्लाको झापा गाउँपालिकाकी उपाध्यक्ष अन्जु देवी थपलिया पालिका भवनको नयाँ कार्यकक्षमा सरेको २ दिन मात्र भएको थियो । नयाँ भवन तयार हुनासाथ उपाध्यक्ष थपलिया नयाँ कार्यकक्षबाट काम गर्न उत्साहित थिइन् । ७ करोड लागतमा बनेको भवनको माथिल्लो तलामा सर्न उनले उद्घाटनको साइत समेत कुरिनन् ।

भदौको २१ गते मात्र उनी माथिल्लो तलामा सरेर काम सुरु गरेकी थिइन् । तर भदौ २४ गते देशभर भइरहेको जेन–जी प्रदर्शन उग्र बनेसँगै झापा गाउँपालिकाको भवन तोडफोड र आगजनीमा पर्यो । उपाध्यक्ष थपलियाको नयाँ कार्यकक्षबाट काम गर्ने सपना आँखै अघि जल्यो । कुर्सी, टेवल र कागजात खरानी भए ।

जेन–जी प्रदर्शन उग्र बनेपछि देशभर सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भइरहेका थिए । २४ गते दिउँसोसम्म उपाध्यक्ष थपलिया जेन–जी प्रदर्शनका गतिविधिबारे समाचार हेर्दै बसिरहेकी थिइन् । दिउँसो १२ बजे तिर आफ्नै पालिका भवन तोडफोड हुन थालेको खबर पाइन् ।

खबर पाउनासाथ उनी खुकुरी बाकेर निस्किएकी थिइन् । उनलाई छोरा र आफन्तले फर्काए । जनप्रतिनिधिमाथि नै आक्रमण भइरहेको अवस्थामा उनीमाथि समेत आक्रमण हुने डरले उनलाई झापाको वडा नम्बर ६ मा भएको घरबाट बिर्तामोड लगेर राखियो ।

‘पालिका भवन तोडफोड हुन थालेपछि म त खुकुरी लिएर निस्किएको थिए । सार्वजनिक सम्पत्ति आगो लगाउने २–४ जनाको हात काट्छु । बरु मलाई अब बाँच्नु पनि धेरै केही छैन भन्ने सोचेर निस्किएको थिएँ । तर छोरा र आफन्तले फर्काए’, उपाध्यक्ष थपलिया भन्छिन्, ‘जेन–जीको नाम पनि थिएन त्यहाँ । सबै लुटेरा हुन् । १०–१५ जनाको अराजक समूह आए । सबै तहसनहस बनाएर गए ।’

थपलियाको निजी घरमा समेत ३ पटकसम्म प्रदर्शनकारीहरु तोडफोड गर्न आएका थिए । तर उनको घर भने स्थानीयले प्रतिकार गरेरै जोगाइदिएको उपाध्यक्ष थपलिया बताउँछिन् । झापा गाउँपालिकाको प्रशासकीय भवन मात्र होइन्, यहाँका ७ वटै वडाका भवनहरु समेत जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । कति क्षति भयो भन्ने यकिन विवरण आएको छैन । तर के–के सामान थिए, के–के जले र के–के तोडफोड भयो भरेर प्रहरीले मुचुल्का उठाएको छ ।

पालिका उपाध्यक्ष थपलियाका अनुसार सोमबारदेखि जनप्रतिनिधि र कर्मचारीहरु कार्यालयमा उपस्थित भएर सरसफाइको काम सुरु गरेका छन् भने अति आवश्यक काम समेत जसोतसो मिलाएर गर्न थालेका छन् ।

यता सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको पनि प्रशासकीय भवन आगजनीबाट पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । भवन भित्रका फर्निचरदेखि कुनै पनि सामाग्री काम लाग्ने अवस्थामा छैनन् । कागजात समेत जलेर खरानी भएपछि सबै काम शून्यबाट सुरु गर्नुपर्ने अवस्थामा रहेको गाउँपालिका उपाध्यक्ष सुनिताकुमारी उरावले जानकारी दिइन् ।

‘भवन निर्माण भएको २ वर्ष मात्र भएको थियो । अब न भवन छ, न कागताज नै । कसरी काम गर्ने अन्योलमा छौं । सबै शून्यबाट सुरु गर्नुपर्छ । धेरै अफ्ठ्यारो छ । अब सबै कुरा मिलाएर सामान्य अवस्थामा काम गर्न नै समय लाग्छ । नयाँ काम गर्न सकिँदैन’, उपाध्यक्ष उराव भन्छिन्, ‘जेन–जीको त बाहाना मात्र बनाए । सबै घुसपैठ भएको छ । छानबिन भएपछि सबै थाहा हुन्छ, कसले गरेको हो भनेर ।’

उपाध्यक्ष उरावका अनुसार सोमबार कार्यपालिका बैठक बसेर घटनाबारे छानबिनको माग गर्ने लगायतका विषयमा निर्णय भएको छ । हिँजैदेखि सरसफाइ गर्न सुरु भएको समेत उनले जानकारी दिएकी छिन् । अहिले जनप्रतिनिधि र कर्मचारीहरु खातामा हाजिर गरेर कार्यालय उपस्थित भइ सरसफाइको काममा जुटेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकाको प्रशासकीय भवनसँगै एउटा सार्वजनिक गाडी, स्थानीयलाई वितरण गर्न ल्याइएका तीन सय भन्दा बढी मोटरपम्प समेत क्षतिग्रस्त बनेका छन् । त्यसैगरी पालिकाका ५ वटा वडा कार्यालय समेत अगजनीबाट पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् ।

यता कैलाली जिल्लाको कैलाली गाउँपालिकाको प्रशासकीय भवन तोडफोड गरिएको छ । पालिकामा भएका सबै सामान बाहिर निकालेर जलाइएको छ । पालिकाको ९ वटा वडामध्ये ८ वटा वडामा आगजनी गरिएको छ ।

२ नम्बर वडामा सामान र कागजात जलाएको र भवन तोडफोड गरेर क्षति पुर्याइएको छ भने पालिका भवन र अरू वडा आगजनीबाट पूर्ण रूपमा क्षति भएको छ । गाउँपालिकाका अध्यक्षको घर समेत जलाइएको छ भने उपाध्यक्षको घर तोडफोड गरिएको छ ।

अध्यक्ष र उपाध्यक्षको घरमा २४ गतेको राति ९ बजेपछि आएको समूहले आगजनी र तोडफोड गरेको उपाध्यक्ष भगवतीकुमारी चौधरीले जानकारी दिइन् । अहिले पालिकाको भवनमा सरसफाइको काम भइरहेको छ । वडा कार्यालयहरु पूर्ण रुपमा क्षतिग्रस्त बनेकाले वडाध्यक्षहरू र कर्मचारीहरू अहिले गाउँपालिकामै उपस्थित भएर पालिकाकै भवनबाट सेवा दिन थालेका छन् ।  

‘म २० गते नै धनगढी कार्यक्रममा गएको थिएँ । आज मात्र फर्किए । पालिका पुगेर म आफ्नो ध्वस्त भएको घर हेर्न भर्खर आएको छु’, भक्कानिँदै उपाध्यक्ष चौधरीले भनिन्, ‘म अहिले केही सोच्न र बोल्न सक्ने अवस्थामा छैन । घरबारबिहीन भएको छु । कार्यालय पनि क्षतिग्रस्त छ । सबै वडा कार्यालय ध्वस्त छन् । अतिआवश्यक सेवा त दिँदै हुनुहुन्छ । तर म पुरै शुन्यमा छु । केही दिन हामीलाई कसरी अगाडि बढ्ने भन्ने सोच्न समय लाग्छ ।’

भदौ २३ गतेको जेन–जीको प्रदर्शनले उग्र रूप लिँदा भदौ २४ गते बिहानैदेखि देशभरका सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी सुरू भएको थियो । नेता, मन्त्री र जनप्रतिनिधिहरुको निजी निवासमा समेत आगजनी र तोडफोड भएका छन् ।

यो आन्दोलनमा ७५३ स्थानीय तहमध्ये ४ सय ६० वटा गाउँपालिकामा २२ वटा गाउँपालिकाको प्रशासकीय भवन पूर्णरुपमा क्षतिग्रस्त बनेको र १८ वटा प्रशासकीय भवनमा आंशिक क्षति पुगेको गाउँपालिका महासंघले जनाएको छ ।

त्यसैगरी गाउँपालिकाअन्तर्गतका देशभरका ४१ वटा वडा कार्यालयहरु तोडफोड र आगजनीबाट पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् भने ४३ वटा वडा कार्यालयमा आंशिक क्षति पुगेको छ । नगरपालिकाको विवरण यहाँ उपलब्ध छैन ।

गाउँपालिका अन्तर्गतका १० जना स्थानीय तहका जनप्रतिनिधिको निजी निवासमा पूर्णरुपमा ध्वस्त भएको छ र ३ जनाको निजी निवासमा आंशिक क्षति पुगेको छ । गाउँपालिकाका २७ वटा सार्वजनिक सवारी साधनमा क्षति पुगेको नेपाल गाउँपालिका महासंघले तयार पारेको विवरणमा उल्लेख गरिएको छ । 

प्रदेश अनुसार गाउँपालिकामा भएको क्षति
कोशी प्रदेश
कोशी प्रदेशमा ८७ वडा गाउँपालिका छन् । देभरका २२ वटा गाउँपालिकाको प्रशासकीय भवन पूर्णरुपमा क्षतिग्रस्त हुँदा कोशीमा मात्र ९ वटा गाउँपालिकाको प्रशासकीय भवन पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् । गाउँपालिका अन्तर्गतका ५ वटा पालिकाको भवनमा आंशिक क्षति पुगेको देखिन्छ भने ३८ वटा वडा कार्यालय पूर्णरुपमा र २० वटा वडा कार्यालय आंशिक रुपमा क्षतिग्रस्त बनेका छन् ।

कोशी प्रदेशमा जनप्रतिनिधिको २ वटा निजी निवास पूर्ण रुपमा र एक जनाको आंशिक रुपमा क्षति भएको छ । कोशी प्रदेशका गाउँपालिकामा रहेका २ वटा सार्वजनिक सवारी साधनमा समेत क्षति भएको छ । कोशी प्रदेशका क्षतिग्रस्त गाउँपालिकामध्ये कानेपोखरी, झापा, बाह्रदशी र बुद्धशान्ति गाउँपालिकाको प्रशासकीय भवन र ४ वटै पालिकका ७–७ वटै वडा कार्यालय पूर्ण रुपमा क्षति भएको छ । 

मधेश प्रदेश
५९ वटा गाउँपालिका रहेको मधेश प्रदेशमा जेन–जी आन्दोलनको नाममा ७ वटा गाउँपालिकाको प्रशासकीय भवन पूर्ण रूपमा क्षति भएको छ । विश्रामपुर, चन्द्रनगर, औरही, नरहा, भगवानपुर, विष्णुपुर गाउँपालिकाको प्रशासकीय भवन पूर्णरुपमा क्षति भएको छ ।

मधेश प्रदेशमा एउटा गाउँपालिकाको प्रशासकीय भवनमा आंशिक क्षति भएको छ भने पूर्ण र आंशिक क्षति हुने वडा कार्यालयको संख्या पनि १–१ वटा रहेका छन् । मधेश प्रदेशका गाउँपालिकाका ३ जना जनप्रतिनिधिहरुको घर तोडफोड र आगजनीबाट पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् भने एक जनाको घरमा आंशिक क्षति पुगेको छ । गाउँपालिकाहरूका १७ वटा सार्वजनिक सवारी साधन क्षतिग्रस्त बनेका छन् ।

बागमती प्रदेश
७४ वटा गाउँपालिका रहेको बागमती प्रदेशमा ४ वटा गाउँपालिका जेन–जी आन्दोलनमा क्षतिग्रस्त भएका छन् । इच्छाकामना, बकैया, मनहरी र राक्सिराङ गाउँपालिका पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । बागमतीको मकवानपुरगढी गाउँपालिकामा भने आंशिक क्षति भएको छ ।

यो प्रदेशका तीन वटा वडा कार्यालयमा सामान्य तोडफोड भएको देखिन्छ भने गाउँपालिकाका एकजना जनप्रतिनिधिको घर पूर्ण क्षतिग्रस्त भएको छ । एकजना जनप्रतिनिधिको घर भने आंशिक क्षति भएको गाउँपालिका महासंघले जनाएको छ । बागमती गाउँपालिकामा २ वटा मात्र सार्वजनिक सवारी साधनमा क्षति पुगेको छ ।

गण्डकी
८४ वटा गाउँपालिका रहेको गण्डकी प्रदेशमा ३ वटा गाउँपालिकामा र एउटा वडा कार्यालयमा आंशिक क्षति भएको छ भने गाउँपालिकका एक जना जनप्रतिनिधिको घरमा क्षति भएको छ । गाउँपालिकामा रहेका तीन वटा सार्वजनिक सवारी साधनमा समेत क्षति भएको छ ।

लुम्बिनी प्रदेश
७३ वटा गाउँपालिका रहेको लुम्बिनी प्रदेशमा दाङको बबइ गाउँपालिकको भवन तोडफोड र आगजनीबाट पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । उक्त पालिकको २ वटा वडा कार्यालयमा समेत क्षति भएको छ ।

अन्य ३ वटा पालिकाको प्रशासकीय भवनमा आंशिक क्षति भएको छ भने जम्मा २ वटा वडा कार्यालय पूर्ण रुपमा र ५ वटा वडा कार्यालय आंशिक रुपमा क्षतिग्रस्त बनेका छन् ।

लुम्बिनी प्रदेशका गाउँपालिकाका एक जना जनप्रतिनिधिको निजी निवास र गाउँपालिकामा रहेको १ वटा सार्वजनिक सवारी साधनमा क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेश
२८ वटा गाउँपालिका रहेको सुदूरपश्चिम प्रदेशमा कैलाली गाउँपालिकको प्रशासकीय भवन र ८ वटा वडा कार्यालयको भवन पूर्ण रुपमा क्षति भएको छ । कैलाली गाउँपालिकाका अध्यक्षको घर आगजनी गरिएको छ भने उपाध्यक्षको घर तोडफोड गरिएको छ ।

सुदूरपश्चिमका अन्य ५ पालिकाको प्रशासकीय भवनमा आंशिक क्षति पुगेको छ भने प्रदेशभर १३ वटा वडा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । २ वटा वडा कार्यालयमा आंशिक क्षति भएको छ ।

गाउँपाकिलामा रहेका २ वटा सवारी साधनमा समेत क्षति पुगेको छ । कर्णाली प्रदेशका कुनै पनि  गाउँपालिकामा क्षति भएको विवरण प्राप्त भएको छैन । 

कुन–कुन गाउँपालिकाका जनप्रतिनिधिको निजी सम्पत्तिमा भयो क्षति ?
झापा जिल्लाको गौरीगञ्ज गाउँपालिकाका अध्यक्षको घरमा सामान्य तोडफोड भएको छ । झापाकै बुद्धशान्ति गाउँपालिकका अध्यक्षको घरमा भने आजगनी गरिएको छ । आगजनीबाट अध्यक्षको घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।

सुनसरी जिल्लाको कोशी गाउँपालिकाका अध्यक्षको घरमा पनि आजगनी गरिएको छ । घर पूर्णरुपमा ध्वस्त भएको छ । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्षको घर समेत पूर्णरुपमा क्षति भएको छ ।

धनुषाकै धनौजी गाउँपालिकाका अध्यक्षको घरमा भने लुटपाट भएको छ । बारा जिल्लाको बारागढी गाउँपालिकाका उपाध्यक्षको घरमा लुटपाट र आगजनी भएको छ । सर्लाही जिल्लाको बह्रापुरी गाउँपालिकाका अध्यक्षको घरमा पनि लुटपाट भएको छ ।

मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाका उपाध्यक्षको घर आगजनीबाट पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकका अध्यक्षको घरमा तोडफोड गरिएको छ ।

नवलपरासी (बर्दाघाट सुस्ता) जिल्लाको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको घरमा आजगनी गरिएको छ । घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।

नवलपरासीकै प्रतावपुर गाउँपालिकका अध्यक्षको घर आगजनीबाट पूर्ण रुपमा ध्वस्त भएको छ । कैलाली जिल्लाको कैलाली गाउँपालिकाका अध्यक्षको घरमा आगजनी गरिएको छ भने उपाध्यक्षको घरमा तोडफोड गरी सामान निकालेर आगजनी गरिएको छ । 

 


Facebook Comments