धनुषाका १८ स्थानीय तहका खाता बन्द, रोकियो कर्मचारीको तलब


जनकपुरधाम । धनुषा जिल्लाका १८ वटै स्थानीय तहको खाता सञ्चालनमा नआउँदा आर्थिक कारोबार ठप्प भएको छ । चालू आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि स्थानीय तहको खाता नखुल्दा कर्मचारीले तलब–सुविधा पाउन सकेका छैनन् भने विकास निर्माणका कार्यहरू समेत रोकिएका छन् ।
जिल्लाको एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकाको खाता बन्द अवस्थामा छ । बजेट खर्चसम्बन्धी कुनै पनि आर्थिक कारोबार हुन सकेको छैन ।
स्थानीय तहको खाता सञ्चालनका लागि नगरसभा वा गाउँसभा सम्पन्न गर्ने, आर्थिक र विनियोजन विधेयक पारित गर्ने, चालू वर्षको बजेट पारित गर्ने र अघिल्लो वर्षको खर्चको हिसाब बुझाउने जस्ता कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । धनुषाका अधिकांश पालिकाले यी प्रक्रियाहरू पूरा नगरेकाले खाता बन्द भएको हो ।
झन्, १८ पालिकामध्ये १० वटा पालिकाले त चालू आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत सम्बन्धित निकायमा पेस गरेका छैनन् । खाता सञ्चालनमा नआउँदा स्थानीय विकास निर्माणका योजना सञ्चालन गर्न समेत गम्भीर समस्या भएको छ ।
Facebook Comments