शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d516e3a6f92.jpg

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । 

जेन–जी आन्दोलनमा युवाहरूलाई गोली हान्न आदेश दिएको आरोपमा र भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेका नेताहरूको राहदानी रोक्का गरिने बताइएको छ ।

स्रोतका अनुसार, राहदानी रोक्का गर्ने वाचलिस्टमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको नाम पनि रहेको छ ।

जेन–जी प्रदर्शनकारीले आगजनी गरेका शीर्ष नेताहरूको घरहरूमा डढेको पैसा भेटिएको भिडियो सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय भएको छ । 

विभागले देउवा र पूर्व ऊर्जामन्त्री दीपक खड्काको जलेको निवासमा मुचुल्का उठाएर अनुसन्धान सुरु गरिसकेको छ । यसै क्रममा, विभागको टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीको निवासमा पनि मुचुल्का उठाएको छ ।

राहदानी ऐन २०७६ अनुसार भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अभियोगमा अनुसन्धान भइरहेका व्यक्तिको राहदानी रोक्का गर्न सकिने कानुनी व्यवस्था भए पनि अहिलेसम्म कुनै पनि नेताको राहदानी रोक्का गर्न औपचारिक पत्राचार भने भइसकेको छैन ।


Facebook Comments