प्रदर्शनकारीलाई उकासेको होइन, घाइतेलाई बचाउन संसद भवन पुगेकी हुँ : तोसिमा कार्की

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d51c4150a8a.jpg

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा सेतो एप्रोन लगाएर उपस्थित भएको भिडिओ भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्वसांसद डा. तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छन् ।

पार्टीको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आन्दोलनकारीलाई उकासेको भन्ने टिप्पणीलाई खण्डन गरिन् । उनले रास्वपाले बोकेको ‘निलो क्रान्ति’ शान्तिपूर्ण परिवर्तनको बाटो भएको बताउँदै आन्दोलनमा पार्टीको मुद्दा मिसिएकाले आफूहरू सहभागी भएको स्वीकार गरिन् ।

तोसिमाले भदौ २३ गते गोली चलेको खबर आएपछि आफू तत्काल घाइतेको उपचार र समन्वयका लागि सिभिल हस्पिटल पुगेको बताइन् । दोस्रो दिन, भदौ २४ गते, संसद भवनमा आफ्नो उपस्थितिको मुख्य कारण पनि घाइते भएका व्यक्तिहरूलाई अस्पताल पुर्याउनु रहेको प्रष्टीकरण दिइन् ।

उनले भनिन्, ‘संसद भवनमा पनि केही व्यक्ति घाइते हुनुभएको थियो, एक–दुई जना बेहोस हुनुभयो । उहाँहरूलाई अस्पताल पुर्याउने काम गर्यौं ।’ उनले आन्दोलन शान्तिपूर्ण बनाउन ढुंगा नहान्न भन्दै आफूले सक्दो प्रयास गरेको दाबी गरिन् ।

उनका अनुसार, भिडिओमा उनले हात समातेको देखिएको व्यक्ति चोट लागेर रुमालले बाँधिदिएपछि धन्यवाद दिने क्रममा रहेको उनले बताएकी छन् । उनले सरकारले भदौ २४ को विद्रोहको पूर्वानुमान गर्न नसकेको भन्दै आलोचना पनि गरेकी छन् ।


Facebook Comments