पूर्व विद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e3457288769.jpg

म्याग्दी । मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । 

प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई थान नेटवर्किङ स्वीचलगायत उपकरण सहयोग गरेको जनाइएको छ ।

रोजगारी, पेसा व्यवसाय र अध्ययनको सिलसिलामा देशका विभिन्न सहर तथा विदेशमा पुगेका पूर्वविद्यार्थी तथा मगरदाङ्ग जन्मथलो भएकाहरु आवद्ध मञ्चले कोष स्थापना गरेको हो । 

मञ्चका अध्यक्ष घनबहादुर फगामी, सचिव तथा म्याग्दी प्रवासी नेपाली मञ्च (मोना)का कोषाध्यक्ष नरेन्द्र फगामी, पूर्ववडाध्यक्ष पिपला बुढालगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद बुढाथोकी र प्रअ अमृत बृढाथोकीलाई सामग्री हस्तान्तरण गरेका थिए । 

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा २४ वटा कम्प्युटर पुगेका छन् । थप १० वटा कम्प्युटर थप गरेर कम्प्युटर कक्षा सञ्चालनको तयारी गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयले गरेको प्रस्तावअनुसार विभिन्न ठाउँमा रहेका पूर्वविद्यार्थी तथा प्रवासी मगरदाङबासीबाट नगद सङ्कलन गरेर उपकरण खरिद गरी उपलब्ध गराइएको मञ्चका सचिव फगामीले बताए ।


Facebook Comments