हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e35c0779bb4.jpg

बागमती । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । 

सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । 

उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् । 

भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए । 

यस्तै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए । ठाउँठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments