काठमाडौंको जनजीवन सामान्य बन्दै, उपत्यकाका सबै सडक सुचारु


काठमाडौं । केही दिनदेखि अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौं उपत्यकाको जनजीवन आइतबारदेखि वर्षा रोकिएसँगै क्रमशः सामान्य बन्दै गएको छ ।
लगातारको झरीका कारण मुख्य सडकमा पानी जम्ने, ट्राफिक जाम बढ्ने र दैनिक चहलपहल प्रभावित भएको थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएसँगै सडकमा गाडीको चाप र सर्वसाधारणको चहलपहल पुनः बढेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, वर्षाका कारण प्रभावित भएका काठमाडौंका सबै प्रमुख सडकहरू हाल सञ्चालनमा आएका छन् । नागढुङ्गा, अरनिको राजमार्ग र टोखा सडकखण्ड लगायतका नाकाहरू नियमित सञ्चालन भइसकेका छन् ।
असन, इन्द्रचोक, न्युरोड लगायतका व्यापारिक क्षेत्रमा उपभोक्ताको उपस्थिति बढ्दै गएको व्यवसायीहरूले बताएका छन् । मौसम खुलेर घाम लागेपछि स्थानीय र व्यवसायीले राहतको महसुस गरेका छन् ।
मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि उपत्यकाको मौसममा सुधार आएको जनाएको छ ।
यद्यपि, आज कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा को सम्भावना भने बाँकी रहेको छ ।
Facebook Comments