हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो

User Image मेयरसाप डेस्क | २०८२ असोज २३ गते ०५:४९
Image of https://mayorsap.com/storage/photos/10/68e767b35e4db.jpg

भोजपुर । यहाँको हतुवागढी गाउँपालिकाले वषौैँदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।

जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन् । चुहिने छानोले सास्ती भोगेकामा गाउँपालिकाले जस्तापाता दिएपछि सहज भएको स्थानीय चिनिमाया खड्काले बताइन् ।

‘फुसको छानो हुँदा धेरै समस्या थियो”, उनले भनिन्, “म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन । पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थेँ । अहिले सहज छ ।’

गाउँपालिकाले हालसम्म विभिन्न आर्थिक वर्षमा छानो फेर्नका लागि रु ७० लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । उनका अनुसार प्रतिघर रु ७५ हजार बराबरको सहयोग गरिएको छ ।

“आर्थिक अवस्था कमजोर भएर छानो फेर्न नसक्ने परिवारलाई प्राथमिकतामा राखेर हामीले सहयोग गरेका हौँ,” निरौलाले भने, “छानो फेरिएपछि वर्षाको समयमा उनीहरूलाई सहज भएको छ ।” 

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले केन्द्र सरकारले निरन्तर बजेट नदिँदा गाउँपालिकाले आफ्नै पहलमा कार्यक्रम अघि बढाएको बताए । दलित, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए । 

स्थानीय तह सञ्चालनमा आएपछि सुरक्षित आवास, जनता आवास र गाउँपालिकाको आफ्नै कार्यक्रममार्फत हालसम्म ४०५ परिवारका लागि  जस्तापाता वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।


Facebook Comments