गृहमन्त्रीले अपराधी पक्राउ गर्न रोके, प्रहरीको मनोबल गिराए : शंकर पाेखरेल


भक्तपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गृहमन्त्री ओमप्रकाश अर्याल प्रतिशोधको राजनीतिमा लागेको र ‘अपराधीको पक्षमा ढाल बनेर उभिएको’ भन्दै आलोचना गरेका छन् ।
नेकपा एमाले भक्तपुरले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले प्रश्न गरे, ‘अहिलेका गृहमन्त्री राज्यको नेतृत्व गर्दैछन् कि आपराधिक समूहको संरक्षण?’
उनले गृहमन्त्री अर्यालले जेलबाट भागेका अपराधीहरूलाई पक्राउ गर्न रोकेको र लुटपाट तथा हत्यामा संलग्नलाई संरक्षण दिएको आरोप लगाए । यस्ता व्यक्तिबाट देशको गृहमन्त्रालय कसरी सञ्चालन हुन्छ भन्ने उनको प्रश्न थियो ।
उनले गृहमन्त्रीले प्रहरीको मनोबल उठाउनुभन्दा गिराउने काम गरिरहेको बताए । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै कार्की प्रतिशोधपूर्ण ढङ्गले अघि बढ्न खोजेको उनले आरोप लगाए ।
सरकारको मुख्य कार्यभार निर्वाचन भए पनि सुरक्षाको प्रत्याभूति नदिई, प्रहरीको मनोबल नउठाइ र लुटिएका हतियार फिर्ता नगरी गरिने निर्वाचनले ज्ञानेन्द्र शाहको जस्तै वैद्यता नपाउने खतरा रहेको पोखरेलले चेतावनी दिए ।
Facebook Comments