कृष्णबहादुर महराको बयान–सुन तस्करीमा मेरो संलग्नता छैन, छोरालाई राजनैतिक संरक्षण गरेको पनि होइन्

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ece1aeb1baa.jpg

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा बयानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन् । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ गपरेका महराले आज बयान दिने क्रममा अवैध सुन भित्र्याउन आफ्नो लगानी र अन्य संलग्नता समेत नरहेको दाबी गरेका हुन् ।

उनले आफूले परिवारका सदस्यलाई राजनैतिक संरक्षण समेत नगरेको बताएका छन् ।  बयानका क्रममा उनले भने, ‘सुनको अवैध पैठारीमा मेरो कुनै पनि संलग्नता छैन । मैले मेरो परिवारका सदस्यहरूलाई कुनै राजनैतिक संरक्षण गरेको छैन । चिनियाँ नागरिकले इलेक्ट्रिक सिगरेट भित्र लुकाई छिपाई लिई आएको सुन अवैध रुपमा नेपाल भिर्त्याउनको लागि मेरो कुनै लगानी छैन ।’

महराले चिनियाँ नागरिक दाओजिन वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनजान भएको बताए । 

उनले बयानका क्रममा आफूले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई आफ्नो छोरा आउँछ, हेरीदिनुहोला भनेर नभनेको समेत बताएका छन् ।

महरामाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । 


Facebook Comments