मेयर भट्टराई भन्छन्– ‘कांग्रेसले हरित नीति र आत्मनिर्भर अर्थतन्त्रको बाटो तय गरोस्’

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f1101dd2bb4.jpg

ललितपुर । नेपाली कांग्रेस खोटाङका उपसभापति तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले पार्टीलाई ‘हरित बाटो’ तय गरेर अगाडि बढ्न अपिल गरेका छन् । 

उनले आज कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गर्दै पठाएको अपिल पत्रमा कांग्रेसले बिपीको विचार, हरित नीति र आत्मनिर्भर अर्थतन्त्रलाई आफ्नो नयाँ बाटोका रूपमा घोषणा गर्न आग्रह गरेका छन् । 

उपसभापति भट्टराईले भनेका छन्, “हाम्रो देश अहिले राजनीतिक, आर्थिक र वातावरणीय सङ्कटको जटिल मोडमा छ । यस्तो अवस्थामा कांग्रेसले गाउँ, स्वरोजगार र स्थानीय स्रोतमा आधारित हरित अर्थतन्त्रको नीति अवलम्बन गर्नैपर्छ ।”

उनले आफूले गत साउनमा माइतीघर मण्डलामा आमरण अनशन बसेर बाँस, स्थानीय स्रोत र हरित नीतिसम्बन्धी सात बुँदे माग अघि सारेको र त्यसको कार्यान्वयन अझै नभएको स्मरण गराउँदै त्यसको कार्यान्वयनमा सहजीकरण आवश्यक रहेको उल्लेख गरे ।  

भट्टराईले पार्टी नेतृत्वलाई केन्द्रीय कार्यालयको पुनःनिर्माणमा बाँस, काठ र रैथाने स्रोतको प्रयोग गर्न सुझाव दिएका छन् । “कावा सभापति र पदाधिकारीहरूले आयातित महँगा फर्निचर होइन, आफ्नै माटोको बाँस र राडीको आसनमा बसेर निर्णय गर्नु आवश्यक छ”, उनले उल्लेख गरेका छन्, “बाँसलाई केवल निर्माण सामग्री नभई संस्कृति, कर्म, धर्म र आत्मनिर्भर अर्थतन्त्रको प्रतीकका रूपमा लिन आवश्यक छ । बिपीले भने झै गाउँको विकास नभई देशका विकास हुँदैन । 

राजनीति जनजीवन सुधार्ने माध्यम हो । अब कांग्रेसले स्वरोजगार, हरित वातावरण र जलवायु सचेत नीति अगाडि बढाएर जनताको विश्वास पुनः प्राप्त गर्नुपर्छ ।” 


Facebook Comments