२४ घण्टामै कसरी ढल्यो नेपाल प्रहरीको लिगेसीः कसले उठाउने प्रहरीको साख ? (भिडियोसहित)

User Image अम्बिका खड्का | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f89e72a0e44.jpeg

गत भदौ २४ गतेको साँझ । देशभर अधिकांश घरमा सँधै भन्दा बलियो गरी मुल गेट लाग्यो । घरभित्र छिर्ने सबै द्वारहरुमा भित्रबाट ताल्चा लगाइयो । सुत्ने कोठाको ढोका र झ्याल राम्रोसँग बन्द गरियो । घरबाट टाढा रहेका परिवारका सदस्यहरुबीच पनि घरको ढोका र झ्याल राम्रोसँग लगाउन र आत्म रक्षाका लागि भएपनि सिरानीमा कुनै हतियार राखेर सुत्न सुझाव आदानप्रदान भए । सामाजिक सञ्जालमा पनि आवश्यक पर्दा सम्पर्क गर्न भनेर नेपाली सेनाका नम्बरहरु राखिएका पोष्ट व्यापक सेयर भए । अधिकांशको मनमा त्रास थियो । डर थियो । ठूलो भय थियो । किनकी सरकारविहीन अवस्था थियो । १०० मा फोन गर्दा उठाउने प्रहरी थिएनन् । गम्भीर अपराधका कैदीबन्दी जेल तोडेर भागेका थिए । आफ्नो ज्यानको सुरक्षा नागरिक आफैंले गर्नुपर्ने बाध्यता सिर्जना भएको थियो ।

यो परिस्थिति अघिल्लो दिन अर्थात भदौ २३ गतेको घटनाले सिर्जना गरेको थियो । भदौ २३ गते जेनजी समूहले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्कुल पढ्ने बालबालिकासहित २१ जनाको मृत्यु भयो । राज्य र प्रहरीको त्यो दमनविरुद्ध चौतर्फी आक्रोश पोखियो । व्यापक बिरोध भयो । गृहमन्त्री रहेका रमेश लेखकले त्यही साँझ राजीनामा दिए । भोलिपल्ट बिहानैदेखि नेताका घर जलाउन थालिए । प्रहरी कार्यालयहरु तोडफोड र आगजनी गर्न थालिए । संसद भवन जल्यो । सिंहदरबार जल्यो । सर्वोच्च अदालत जल्यो । काठमाडौं उपत्यकाका अधिकांश सरकारी कार्यालयहरु जले । व्यक्तिगत उद्योग समेत छोडिएन् । आक्रोशित भिडले नेता कार्यकर्ता र प्रहरीलाई समेत कुटे । देशभर प्रहरीका अधिकांश कार्यालयमा तोडफोड र आगजनी गरियो । ज्यानै बचाउन मुस्किल भएपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । नेता कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधि लुकेर बस्न बाध्य भए । नागरिकलाई सुरक्षा दिने प्रहरीलाई आफ्नै ज्यान जोगाउन हाम्मे हम्मे भयो । देश राज्यबिहीन अवस्थामा पुगेको थियो । शासक भागेका थिए, प्रशासन शुन्य थियो, प्रहरी ज्यान बचाउन बर्दी खोलेर लुकेका थिए । राति अबेरसम्म आगजनी, तोडफोड र लुटपाट भइरह्यो। त्यो रात राज्यमा प्रहरी प्रशासन नहुँदाको भयपूर्ण अवस्था जनताले राम्रैसँग महसुस गरे ।

प्रदर्शनकारीको निसानामा परेको नेपाल प्रहरी भदौ २४ को त्यो घटनापछि भदौ २९ गते मात्र पूर्ण रुपमा काममा खटियो । तोडफोड र आगजनी भएका कार्यालय भवनहरु स्वस्फूर्त रुपमा सफा गरिन थालियो । कतिपय ठाउँमा त अघिल्लो दिन तोडफोड र आगजनीमा उत्रिएका युवाहरू नै मोसो लागेका भित्तामा रङ दलेर उज्यालो बनाउन स्वस्फुर्त रुपमा सक्रिय भए । तर भौतिक र मानवीय क्षति समेत बेहोरेको प्रहरी संगठनको मनोबल भने नमिठो गरी गिर्यो ।

आन्दोलनका क्रममा कुटपिटबाट ३ जना प्रहरीको ज्यान गयो । देशभरका ४ सय ५० भन्दा बढी प्रहरी चौकीमा क्षति पुग्यो । ५ सय भन्दा बढी प्रहरीका सवारी साधन जले । ११ सय थान हातहतियार लुटिए । प्रहरीका पोशाक लुटिए–जलाइए । प्रहरी कार्यालयका उपकरणहरु, कागजपत्र कतै जलाइए, कतै लुटिए । लुटिएका पोशाक त फेरि किन्न सकिएला । भत्किएको भवन पनि पुनर्निर्माण गर्लान । तर गिरेको मनोबल प्रहरी संगठनको प्रयत्नले मात्र उकासिने छैन । यसका लागि सरकार र नागरिकको भूमिका महत्वपूर्ण हुन्छ ।

अहिले पनि ४ हजारभन्दा बढी कैदीबन्दी फरार छन् । आफ्नै आँखा अगाडि सहकर्मीको कुटिकुटी हत्या भएको दृश्य प्रहरीसँग अझै आलै छ । देश र जनताको सेवा गर्न भनेर लगाएको बर्दी आफ्नो ज्यान बचाउन फुकालेर फाल्नु परेको पीडा ताजै छ । खोलैखोला कुदाइ कुदाइ कुटिएको क्षण झलझल आँखामा नाचिरहन्छ ।

जेनजी आन्दोलनपछि अहिलेसम्म पनि प्रहरीमाथि हातपात गर्ने, गालीगलौज गर्ने क्रम रोकिएको छैन । बर्दीमा समाएर गाली गरिरहँदा पनि प्रहरी निरीह बनेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । जेनजी आन्दोलनपछि सरकारले प्रहरीमाथि लगाएको अंकुशले दृढसंकल्प र आत्मविश्वास गिरेको नेपाल प्रहरीको मनोबल उकास्ने कल्पना पनि गर्न सकिँदैन । जेनजी आन्दोलनका क्रममा अपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरुको भिडियो र तस्बिरहरु सामाजिक सञ्जालमा छरपष्ट छन् ।

प्रहरी पुनस्थापित भएसँगै हातहतियार, पोशाक र अन्य सामाग्री लुटपाट गर्ने, प्रहरीमाथि कुटपिट गर्ने, सरकारी कार्यालयहरुमा अगजनी गर्ने व्यक्तिहरूको पहिचान गरेर प्रहरीले पक्राउ गर्न सुरू गरेको थियो । तर प्रहरीले पक्राउ गरेका आरोपीहरुलाई गृहमन्त्रालयको निर्देशनमा छुटाइयो । प्रहरीले मेहनेत गरेर पक्राउ गरेका अपराधिलाई मुद्दा चलाउनुको साटो गृह मन्त्रालयको निर्देशनमा केही घण्टामै छोड्नुपर्ने अवस्थाले पनि प्रहरीलाई निरीह बनाउँदै लगेकोे छ ।

जेनजीका विभिन्न समूहले ‘सेक्टेम्बर ८’ ब्युँझाउने चेतावनी दिइरहन्छन् । राजनीतिक दलका विभिन्न भातृ संगठनहरु समेत सडकमा सलबलाइरहेका छन् । देशमा परिवर्तित राजनीतिक घटना क्रमले देशको शान्ति सुरक्षालाई थप जटिल बनाउँदै लगेको छ । यहि परिस्थितिमा सरकार भने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने आदेश दिन्छ । कमजोर मनोबलका साथ डिउटीमा खटिएको प्रहरीले ओली र लेखकलाई पक्राउ गर्दा हुन सक्ने अर्को ‘सेक्टेम्बर ८’ को सामना कसरी गर्ला ? ओली र लेखकलाई पक्राउ गर्न निर्देशन दिनु, अपराधिक गतिविधिमा पक्राउ परेकालाई छुटाउन दबाब दिनुले सरकारले प्रहरीको घाउमाथि झन नुन छर्किरहेको अनुभव प्रहरीले गरिरहेको छ ।

सरकारले फागुनमा निर्वाचन गराउन मिति तोकेको छ । मजबुत सुरक्षा संयन्त्रबिनाको स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन कतिको सम्भव छ रु यसबारेमा सरकारले कतिपनि चासो राखेको देखिँदैन् ।

प्रहरी कार्यालय पुनस्र्थापित गर्न केही स्थानमा स्थानीय आफैं जुटे । आन्दोलनपछि विस्थापित प्रहरी कार्यालय फर्कँदा कतिपय स्थानमा नागरिकहरूले नै फूलमालाले स्वागत गरेर प्रहरीको मनोबल बढाउने काम पनि भएको छ । कार्यालय मर्मत गर्न सहयोग गर्ने, प्रहरीलाई चाहिने सामाग्री किनिदिने, प्रहरीलाई साथमै लिएर जलेका र तोडफोड भएका प्रहरीका भवन सरसफाई गरिदिने काम नागरिकस्तरबाट पनि भएका छन् । तर यो नै प्रहरीको मनोबल उकास्न पर्याप्त हुने देखिँदैन ।

सरकारले प्रहरीलाई स्वतन्त्र ढंगबाट काम गर्ने वातावरण बनाउनु आवश्यक छ । जेनजी आन्दोलनका क्रममा अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन राज्यले प्रहरीमाथि अंकुश लगाउनु हुँदैन् । कारागार तोडेर भागेका कैदीबन्दीको पहिचान गर्न समुदायस्तरदेखि सरकारसम्म सबैले आवश्यक पहलकदमी गर्नु जरुरी छ । यसले प्रहरी संगठनलाई आफ्नो पेशाप्रतिको सम्मान जगाउँछ । मनोबल बढाउन मद्धत गर्छ ।

आन्दोलनका क्रममा फ्रन्टलाइनमा खटिएका, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आन्दोलनका विभिन्न पक्षबाट विक्षिप्त भएका प्रहरीहरुलाई आवश्यक मनोपरामर्श, तालिम साथै आवश्यक परेको खण्डमा आराम समेत दिनु आवश्यक छ ।

जलेका चौकी, कार्यालय, अभिलेख र उपकरणहरू पुनःस्र्थापना गर्न तुरुन्त बजेट र प्राविधिक सहयोग आवश्यक छ । कागजी अभिलेख नष्ट भएपनि सूचनाको निरन्तरता कायम राख्न डिजिटल अभिलेख प्रणाली लागू गरी प्रहरी प्रशासनलाई आधुनिक र प्रविधिमय बनाउन पनि सरकारले उचित पहल गर्नु आवश्यक छ । प्रहरीलाई आफ्नो पेशासँग आत्मसम्मान जगाउन आवश्यक सबै पहल सरकारले नै गर्नै पर्छ ।

नेपालको लोकतन्त्रले धेरै उतारचढाव देखिसक्यो र ती सबै घटनामा प्रहरी सदैव अग्रपंक्तिमा रह्यो। तर कहिल्यै प्रहरीलाई संवेदनशील संरचनाको रुपमा हेरिएन बरु सधैँ आदेश पालना गर्ने बफादार संगठनको रुपमा मात्र लिइयो ।

यसअघिका सबै घटनाभन्दा पनि जेनजी आन्दोलनमा नेपाल प्रहरी नराम्रोसँग थलिएको छ । त्यसैले प्रहरी पुनर्जीवित भएन भने, लोकतन्त्रको ढाँचा पनि धराशायी हुन्छ भन्ने कुरा नबिर्सिएर प्रहरी संगठनको मनोबल उकास्न जरुरी छ ।

भिडियाे:


Facebook Comments