मकवानपुरगढीमा रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण

रैथाने बाली प्रवर्द्धन, किसानलाई अनुदान

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २५ गते १९:२५
Image of https://mayorsap.com/storage/photos/shares/makawanpur-1071240913.jpg

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीहरूको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

चालु आर्थिक वर्षका लागि गरिएको यो निर्णयले किसानलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख गोपाल लम्सालका अनुसार, पालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकेको छ ।

त्यसैगरी, तिते फापर प्रतिकिलो ९० रुपैयाँ र मिठे फापर १०५ रुपैयाँ निर्धारण गरिएको छ । जुनेलोलाई ८४ रुपैयाँ, सेतो सिमीलाई १२० रुपैयाँ र कालो सिमीलाई १३० रुपैयाँ समर्थन मूल्य तोकिएको छ ।

गाउँपालिका अध्यक्ष दोर्जे लामाले कोदो र फापरमा विगत पाँच वर्षदेखि अनुदान दिँदै आएको जानकारी दिए । उनका अनुसार, कोदो र फापर बिक्री गर्ने किसानलाई प्रति केजी ६ रुपैयाँ र खरिद तथा बजार व्यवस्थापन गर्ने सहकारीलाई प्रति केजी ४ रुपैयाँ अनुदान दिइनेछ ।

करिब ६ सय हेक्टरमा रैथाने बालीको खेती हुने गरेको पालिकामा यो कार्यक्रमबाट करिब ५ सय घरधुरी लाभान्वित हुने जनाइएको छ । गत वर्ष १८० क्विन्टल रैथाने बाली उत्पादन भएको थियो र यस वर्ष उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

साथै, सामुदायिक विद्यालयका दिवा खाजामा पनि रैथाने बालीका परिकार खुवाउने गरिएको छ ।


Facebook Comments