बझाङको थलारा गाउँपालिकामा खुलेको अल्लो उद्योगले आत्मनिर्भर बन्दै स्थानीय महिला
डीबी विष्ट
|
२०८२ पुष ५ गते १२:२७
बझाङ । बझाङको थलारा गाउँपालिका–२ का अधिकांश युवाहरू रोजगारीको सिलसिलामा भारत जाने गर्दछन् । गरिबी र बेरोजगारीको समस्याले गर्दा बिहान बेलुका हातमुख नै जोड्न समस्या हुने भएकाले धेरै जसोले सपरिवार नै गाउँ छोड्ने गरेका छन् । भारतको विभिन्न शहरमा गएर ज्याला मजदुरी गर्नु यहाँका युवाहरुको बाध्यता हो ।
स्थानीय २५ वर्षीया विमला थापाले पनि घर व्यवहार चलाउनै समस्या भएपछि रोजगारीका लागि भारत जाने निधो गरिन् । साना छोराछोरी छोडेर भारत जाने निर्णय लिनु उनलाई सहज भने थिएन । केही वर्षअघि दुर्घटनामा परी श्रीमानको निधन भएपछि घरको सम्पूर्ण जिम्मेवारी विमलाको काँधमा आयो । उनको १ छोरा र २ छोरी तथा बुढी सासु गरी जम्मा ५ जनाको परिवार छ ।
जीवनभर साथ दिन्छु भनेर ल्याएका श्रीमान सदाका लागि विदा भएर गए । छोराछोरी सानो छ, वृद्धा अवस्थाको सासु छिन् । कमाएर ल्याउने मान्छे कोही छैन । घर चलाउने मूल खम्बा नै आफू भएपछि विदेशिन खोज्नु उनको रहर नभइ बाध्यता थियो । गाउँमा पाखो जमिन छ । उब्जनी गर्नका लागि आकाशे पानीको भर पर्नु पर्छ । खेतबारीमा वर्षभरी काम गरेर ३ महिनाका लागि पूर्ण रुपमा खान पनि मुस्किल पर्छ । बाँकी समय मजदुरी गरेर घर व्यवहार चलाउनु पर्ने विमला लगायत यहाँका नागरिकहरुको बाध्यता हो ।
तर अहिले गाउँमै खुलेको अल्लो प्रशोधन उद्योगमा रोजगारी पाएपछि धेरैको समस्या दूर हुँदै गएको छ । यस गाउँमा अहिले दुईवटा अल्लो प्रशोधन उद्योग खुलेको छ । उद्योगमा रोजगारी पाएपछि यहाँका महिलाहरुको दैनिकी फेरिएको छ । विमला भन्छिन् ‘पहिला पैसा नुहँदा विभिन्न समस्याको सामना गर्नुपर्यो, अहिले सानातिना काम गर्न कुनै अप्ठेरो छैन । ’ ।
विमलाको जस्तै समस्या सोहि गाउँकी २२ वर्षीया निरा खड्काको पनि थियो । आफूसंग आयस्रोत नभएका कारण विभिन्न समस्याहरुको सामना गर्नु परेको खड्का बताउँछिन् । तर अहिले गाउँमै रोजगारी पाएपछि खड्काले पनि मासिक रुपमा घरायसी खर्च चलाउन निकै सजिलो भएको सुनाइन् ।
गाउँमै रोजगारी पाएपछि घरायसी खर्च र पढाई खर्चको जोहो गर्न यहाँका महिलाहरुलाई सहज भएको छ । स्थानीय उर्मिला थापाले आफ्नो पढाई खर्च र व्यक्तिगत खर्चका लागि घरपरिवारको सदस्यको मुख ताक्नु पर्ने अवस्थथाको अन्त्य भएको बताइन् । बरु उल्टै आफ्नो परिवारलाई घरायसी खर्चमा समेत मदत गर्दै आएको उनले बताइन् । दिउँसोको समयमा विद्यालय जानु परेकाले बिहान बेलुकाको समयमा काम गर्दै आएको उनले सुनाइन् ।
बझाङको थलारा गाउँपालिका–२मा मालिका भवानी अल्लो बुनाई तथा सिलाई उद्योग र कालिका भवानी अल्लो प्रशोधन उद्योग गरी दुई वटा उद्योगहरु खुलेको छ । यस उद्योगबाट झोला, खादा, महिलाका विभिन्न प्रकारका कपडा आदि उत्पादन हुने गर्दछ । यहाँ काम गरेर मासिक रुपमा आफुहरुले २५ देखी ३० हजार सम्म आम्दानी गर्दै आएको अञ्जुदेवि खातीले सुनाइन् ।
यसरी महिलालाई आत्मनिर्भर बनाउनुमा प्रगतिशिल युवा समाज बझाङद्धारा संचालित सृजना परियोजना, थलारा गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय बझाङले यहाँका महिलाहरुका लागि ठुलो योगदान गरेको उनिहरुको भनाई छ । पहिलेको तुलनामा घर व्यवहार चलाउन र छोराछोरीको पढाई खर्च जुटाउन निकै सजिलो भएको उनीहरु बताउँछन् ।
यहाँका झण्डै १५/२० जना महिलाहरुको मुख्य आयस्रोत यिनै उद्योगहरु बनेको थलारा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रविन्द्र खातीले बताए । यहाँका महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सकेपछि मात्रै महिला माथि हुने विभिन्न प्रकारका हिंसाका घटनाहरु न्यूनीकरण हुने भन्दै वडा अध्यक्ष खातीले यसका लागि गाउँपालिकाले विभिन्न सीप मुलक तालिमहरु संचालन गर्दै आएको बताए ।
उद्योगबाट अहिले यहाँका महिलाहरुले अल्लोबाट नै तयार पारिएका ब्यागहरु, साईड ब्यागहरू, टोपी, कोटको कपडा आदि उत्पादन गरी विक्री गर्दै आएको उद्योग संचालन गर्दै आएकी कलावति कुमारी रोकायाले बताईन् । १०/१२ जना भन्दा बढी महिलाहरु मिलेर सामुहिक रुपमा उक्त उद्योगलाई संचालनमा ल्याएका छौं, रोकायाले भनिन्,‘ विगतमा गाउँमा अल्लो त्यतीकै खेर जाने गरेको थियो ।
त्यसरी खेर जाने अल्लोलाई अहिले प्रसोधन गरेर विभिन्न प्रकारका ब्यागहरु, कपडाहरु आदि उत्पादन गरी विक्री गर्ने गरेका छौ । आफुहरुले सपनामा पनि नसोचेको कुरा पूरा भएको उनले बतान्र । यहाँ उत्पादित वस्तुको माग बजारमा उच्च रहेपनि पुरा गर्न नसकेका उनले बताइन् । कतिपय कच्चा पदार्थ तथा केही सामाग्री जिल्ला बाहिरबाट खरिद गरेर ल्याउनु पर्ने भएका कारण समय समयमा समस्या झेल्नु परेको रोकायाले बताइन् । गाउँपालिकाले र विभिन्न संघ संस्थाहरुले आफुहरुलाई पटक पटक विभिन्न औजारहरु उपलब्ध गराएर, तालिम तथा थप सीप प्रदान गरेर आफुहरुलाई हौसला प्रदान गर्दै आएको उनले सुनाइन् ।
Facebook Comments