Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

भक्तपुर– १ का मतदाता भन्छन्– भोट माग्न मात्र आउनेलाई भोट छैन

नेमकिपाकाे 'गढ' भत्काउने विपक्षीकाे दाउ

User Image मेयरसाप डेस्क | २०८२ फागुन ९ गते १३:००
Image of https://mayorsap.com/storage/photos/shares/election-2082.jfif

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं १ मा चुनावी चहलपहल उत्कर्षमा पुगेको छ । नेपाल मजदुर किसान पार्टीको बलियो पकड मानिने यस क्षेत्रमा यसपटक अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले कडा चुनौती दिने प्रयास गरिरहेका छन् ।

यस क्षेत्रमा नेमकिपाका तर्फबाट पुराना नेता प्रेम सुवाल चौथो पटक चुनावी मैदानमा छन् । वि.सं. २०३८ देखि २०७० सम्म नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले जितेको र त्यसपछि सुवालले निरन्तरता दिएको यो क्षेत्रमा नेमकिपा आफ्नो विरासत जोगाउने दाउमा छ । यद्यपि, एमालेका सोमप्रसाद मिश्र, कांग्रेसका किरण न्यौपाने र रास्वपाका रुकेश रञ्जितले यसपटक नेमकिपाको एकल वर्चस्व तोड्ने दाबी गरेका छन् ।

चुनावी अभियानका क्रममा मतदाताहरूले भने विकास र जनसम्पर्कलाई मुख्य एजेन्डा बनाएका छन् । चाँगुनारायण–१ की पहिलो पटक मतदान गर्न लागेकी १९ वर्षीया मोनिका रोक्का भन्छिन्, ‘सुख–दुःखमा साथ दिने र यहाँको विकासमा ध्यान दिनेलाई मात्र भोट दिने हो।’ भक्तपुरका कतिपय क्षेत्रमा अझै सडक कालोपत्रे नभएको, खानेपानीको अभाव र सम्पदा संरक्षणमा कमी रहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

भक्तपुरका जनताको खुसी र विकास नै आफ्नो मुख्य एजेन्डा रहेको नेमकिपाका प्रेम सुवालको दाबी छ । भक्तपुरलाई सिंहदरबारसँग जोड्ने पुलको काम गर्ने र ख्वप कलेजलाई विश्वविद्यालय बनाउन पहल गर्ने एमालेका सोमप्रसाद मिश्रको प्रतिबद्धता छ ।

भूकम्पपीडितको पुनःनिर्माण र जग्गा रोक्का जस्ता समस्या समाधान गर्न आफूलाई जिताउनुपर्ने कांग्रेसका किरण न्यौपानेको तर्क छ । रास्वपाका रुकेश रञ्जितले सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणलाई मुख्य एजेन्डा बनाएका छन् ।

यस क्षेत्रमा १६ राजनीतिक दल र ९ स्वतन्त्र गरी कुल २५ उम्मेदवार प्रतिस्पर्धामा छन् । कुल १ लाख ७ हजार ५४ मतदाता रहेको यस क्षेत्रमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी छ ।

भक्तपुर नगरपालिकामा नेमकिपाको पूर्ण प्रभाव रहे पनि चाँगुनारायण नगरपालिकामा भने कांग्रेस, एमाले र राप्रपाको मिश्रित जनमत छ, जसले यसपटकको प्रतिस्पर्धालाई रोचक बनाएको छ ।


Facebook Comments