काठमाडौंको वसन्तपुरमा ठडियो ३२ फिट उचाइको होली चीर
राजधानीमा सुरु भयो पर्वको उत्सव
मेयरसाप डेस्क
|
२०८२ फागुन १२ गते ०९:२५
काठमाडौं । वसन्तपुरमा मंगलबार बिहान होली पर्वको अवसरमा ३२ फिट उचाइको रंगीबिरंगी चीर ठड्याइएको छ। तीन खण्डे गजुरजस्तो देखिने चीर हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक र दाखचोकमा स्थापना गरिएको हो।
चीर ठड्याइसकेपछि गुर्जु पल्टनले प्रदर्शन गर्दै पर्वको हर्ष थपेको थियो। यससँगै राजधानी काठमाडौँसहित मुलुकभर औपचारिक रूपमा होली पर्वको शुभारम्भ भएको मानिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज चीर ठड्याउन उत्तम साइत रहेको घोषणा गरेको थियो।
होली पर्व वसन्त ऋतुको आगमनको खुसीमा रङसहित मनाइन्छ। पौराणिक कथाअनुसार, हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकालाई आगोमा बसाल्न खोज्दा, आगोले प्रह्लादलाई असर नगरी होलिकालाई भस्म बनाएको विश्वास गरिन्छ। यही घटनाको स्मरण गर्दै होली अबिर र रङसहित मनाइन्छ।
Facebook Comments