महेश बस्नेतलाई बोलाएपछि ‘कमेडी नाइट विथ च्याम्पियन’मा विवाद, निर्देशक भण्डारी आक्राेशित
सामाजिक सञ्जालमा आलोचना र धम्कीका बीच, विशाल भण्डारीले कार्यक्रम निष्पक्ष राख्ने र अवरोध भए कानुनी बाटो अपनाउने संकेत दिए
मेयरसाप डेस्क
|
२०८२ फागुन १२ गते १४:५९
काठमाडौं । रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ का निर्देशक एवं प्रस्तोता विशाल भण्डारीले सामाजिक सञ्जालमा आफू र कार्यक्रममा अतिथिको आलोचना गर्ने व्यक्तिहरूविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।
यो विवाद तब सुरु भयो जब नेकपा एमालेका सचिव महेश बस्नेतलाई कार्यक्रममा अतिथिको रूपमा बोलाइयो। ट्रेलर सार्वजनिक भएपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कार्यक्रम र भण्डारीमाथि आलोचना गर्दै कार्यक्रम बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए।
भण्डारीले फेसबुकमा लेख्दै आफ्नो कार्यक्रम सधैं निष्पक्ष रहेको दाबी गरेका छन्। उनले यसअघि पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तीन पटक, राप्रपाका एक पटक, नेपाली कांग्रेसका एक पटक र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का नेता एक पटक अतिथिको रूपमा आउनु तथ्य प्रस्तुत गरे।
भण्डारीले लेखेका छन्,
“हामीलाई हरेक पटक एउटा दलको बोलाउँदा अर्को पक्षबाट सामाजिक सञ्जालमा आक्रमण हुँदै आएको हो। भ्रष्टाचार, नातावाद र व्यक्तिवाद विरोधी युवाहरूले महेश बस्नेत बोलाएको एपिसोडको ट्रेलर हेरेकै आधारमा आक्रोश प्रकट गर्नु कुनै नयाँ कुरा होइन। हामीले चाहेको समाज यस्तो हो कि जहाँ कुनै दल विशेषका व्यक्ति मात्र कार्यक्रममा आउनुपर्छ?”
उनले सबै दलका नेता तथा कार्यकर्तालाई कार्यक्रममा अवरोध नगर्न अनुरोध गर्दै भनेका छन्,
“विचारलाई साइडमा राखेर कार्यक्रमलाई प्रजातान्त्रिक र निष्पक्ष रूपमा सञ्चालन गर्न रोक्ने वा धम्काउने क्रियाकलाप नगर्न सबैलाई अनुरोध गर्दछौं। तर यो क्रम नरोकिए कानुनी बाटो अपनाउनेछौं।”
ट्रेलर सार्वजनिक भएपछि फेसबुक र युट्युबमा दर्शक प्रतिक्रियाहरू मिश्रित देखिएका छन्। केहीले कार्यक्रमले विवादास्पद व्यक्तिलाई स्थान दिएको र युवाहरूको आन्दोलनको अपमान गरेको आरोप लगाए भने, कतिपयले कलाकारले सबैको नक्कल गर्न पाउनुपर्ने भन्दै भण्डारीको समर्थन गरेका छन्।
Facebook Comments