गुल्मीमा निर्वाचन अवधिभर मदिरा बिक्री र सेवन गर्न प्रतिबन्ध
गुल्मीमा ५ दिन 'ड्राइ डे'
मेयरसाप डेस्क
|
२०८२ फागुन १३ गते ११:२०
गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन गुल्मी जिल्लामा पाँच दिनसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण र सेवनमा पूर्ण रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको सहमति र जिल्ला सुरक्षा समितिको निर्णयानुसार फागुन १६ गतेदेखि मतदानको दिन (फागुन २१ गते) सम्म जिल्लाभर यो प्रतिबन्ध लागु हुने भएको हो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार निर्वाचनका बेला हुन सक्ने अप्रिय घटना रोक्न र सुरक्षा व्यवस्था चुस्त राख्न मदिरामा कडाइ गरिएको हो । ‘निर्वाचन प्रक्रियालाई स्वच्छ र निष्पक्ष बनाउन हामी प्रतिबद्ध छौँ,’ उनले भने, ‘यो अवधिमा सार्वजनिक स्थानमा मदिरा सेवन गर्ने वा कारोबार गर्ने जोसुकैलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ।’
मदिरा निषेध गरिएको समयमा जिल्ला प्रहरी कार्यालयले नियमित अनुगमन र संयुक्त गस्ती परिचालन गर्नेछ । राजनीतिक दलका प्रतिनिधिहरूले पनि निर्वाचनको मर्यादा कायम राख्न प्रशासनको यस निर्णयमा ऐक्यबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयले उद्योगी, व्यवसायी र आम सर्वसाधारणलाई यो निर्णय पालना गरी निर्वाचनलाई सभ्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउन अपिल गरेको छ ।
Facebook Comments