सिरहा–३ का मतदाता भन्छन्– ‘आश्वासन धेरै पायौँ, अब परिणाम चाहियो’
वाचा धेरै, व्यवहारमा सुधार शून्य
मुकेशकुमार यादव
|
२०८२ फागुन १३ गते १४:१९
सिरहा । आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै सिरहा–३ मा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरू आ–आफ्ना एजेन्डा र प्रतिबद्धतासहित घरदैलोमा व्यस्त छन् । तर, गोलबजारका स्थानीयले भने ‘नयाँ एजेन्डा होइन, कामको परिणाम चाहियो’ भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
गोलबजार नगरपालिका–१० का साधुराम महतो भन्छन्, ‘चुनाव आएपछि उम्मेदवारहरू विगतकै वाचा लिएर आउँछन्। स्वास्थ्य, शिक्षा र कृषिमा आमूल परिवर्तन गर्ने भनिए पनि व्यवहारमा कुनै सुधार देखिएन ।’ उनका अनुसार चुनावी भाषणमा सुशासन र विकासका चर्चा धेरै भए पनि कार्यान्वयनको पक्ष सधैँ फितलो रहने गरेको छ ।
गोलबजार–३ की सुगिया सदा वर्षौँदेखि खानेपानीको समस्याले पिरोलिएकी छन् । ‘धेरैपटक भोट दियौँ, कोही घर बनाइदिन्छु भन्छन् त कोही खानेपानीको समस्या सुल्झाउँछु भन्छन्,’ उनी भन्छिन्, तर समस्या जस्ताको तस्तै छ ।’
आर्थिक वर्ष २०८०–८१ मा करिब २० लाख रुपैयाँको लागतमा दलित बस्तीमा धाराहरू त जडान गरिए पनि तीन वर्ष बित्न लाग्दा पनि पानी नआएको स्थानीयको भनाइ छ । सदाले भनिन्, ‘आँगनमा धारा छ, तर पानी आउँदैन ।’
यहाँका करिब ८० दलित परिवार खानेपानी अभावबाट प्रत्यक्ष प्रभावित छन् । वडा कार्यालय बस्ती नजिकै भए पनि समस्या समाधानमा चासो नदिएको उनीहरूको आरोप छ । आफूहरु भोट बैंक मात्र बनेर नबस्ने भन्दै सदाले यसपटक गरिब र दलितको वास्तविक समस्या बुझ्ने उम्मेदवारलाई मात्र मत दिने बताइन् ।
अर्का स्थानीय शिवबहादुर थापा नेपाली उखान उद्धृत गर्दै भन्छन्, ‘जुन जोगी आए पनि कानै चिरेको, चुनावका बेला आश्वासनको ओइरो लाग्छ, तर जितेपछि नेताहरू फर्केर आउँदैनन् । गरिबको अवस्था जस्ताको तस्तै छ ।’
यता गोलबजार–३ का वडा अध्यक्ष धनप्रसाद लामाले ‘एक घर, एक धारा’ अवधारणा अन्तर्गत ८० घरमा धारा जडान गरिएको दाबी गरे । उनले भने, ‘ओभरहेड ट्याङ्की निर्माण भएपछि मात्र नियमित पानी आपूर्ति सम्भव हुन्छ, त्यसका लागि आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाइनेछ ।’
निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा सिरहा–३ मा विकासका अधुरा काम र दलित बस्तीका आधारभूत आवश्यकता मुख्य चुनावी मुद्दा बनेका छन् । मतदाता यसपटक खोक्रो आश्वासनभन्दा पनि ठोस परिवर्तन र परिणामको पर्खाइमा देखिन्छन् ।
Facebook Comments