हेटौँडामा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु
मेयरसाप डेस्क
|
२०८२ फागुन १३ गते १६:००
बागमती । हेटौँडाको बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुरमा बुधबार यो भीषण दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट (नेवारपानीबाट हेटौँडातर्फ) आउँदै गरेको एक अनियन्त्रित ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा मृत्यु हुनेहरूमा मकवानपुरकै राक्सिराङ गाउँपालिका–१ निवासी २२ वर्षीय सन्जित स्याङतान र १८ वर्षीय अमोश थिङ रहेका छन् । मोटरसाइकल चालक स्याङतान र पछाडि सवार थिङ दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुर जिल्ला प्रहरी प्रवक्ता एवं उपरीक्षक पुष्कर बोगटीका अनुसार ठक्कर दिएपछि ट्रक र त्यसका चालक फरार भएका छन् । प्रहरीले सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा फरार ट्रक र चालकको व्यापक खोजी गरिरहेको छ ।
Facebook Comments