निर्वाचनमा हवाई उडान नरोकिने, विमानस्थल आउजाउ गर्न पाइने
सवारी साधनको प्रयोग, यात्रुलाई सहजीकरण
मेयरसाप डेस्क
|
२०८२ फागुन १४ गते १४:२३
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडानहरू नियमित सञ्चालन हुने भएका छन् । विगतका निर्वाचनहरूमा आन्तरिक उडान बन्द गर्ने प्रचलन रहे पनि यसपटक निर्वाचन आयोगले उडान सुचारु राख्ने निर्णय गरेको हो ।
मतदानको दिन आन्तरिक र बाह्य उडानहरू तालिका अनुसार नै सञ्चालन हुनेछन् । हवाई टिकट भएका यात्रुहरूलाई घर वा होटलबाट विमानस्थलसम्म र विमानस्थलबाट गन्तव्यसम्म जान अवरोध गरिने छैन ।
यात्रुहरूले आफ्नो निजी सवारी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको गाडी प्रयोग गर्न पाउनेछन् । यसका लागि आवश्यक समन्वय गर्न आयोगले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।
निर्वाचन आयोगले सुरक्षा र मतदान प्रक्रियालाई असर नपर्ने गरी यात्रुहरूको सुविधाका लागि यो कदम चालेको हो । यसअघि नेपाल पर्यटन बोर्डले उडान बन्द हुन सक्ने भन्दै ट्राभल एडभाइजरी जारी गरे पनि आयोगको यो नयाँ निर्णयले यात्रुहरूलाई ठूलो राहत मिलेको छ ।
Facebook Comments