Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मोरङ–१ : पूरानालाई विरासत जोगाउन सकस, नयाँ इतिहास रच्ने दाउमा

कांग्रेस–एमालेलाई धक्का

User Image मेयरसाप डेस्क | २०८२ फागुन १४ गते १३:५२
Image of https://mayorsap.com/storage/photos/shares/web-post-67836604.png

मोरङ । आगामी फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नम्बर–१ को राजनीतिक माहोल निकै तातिएको छ । विगत एक दशकदेखि एउटै अनुहारबीच प्रतिस्पर्धा हुँदै आएको यस क्षेत्रमा यसपटक नयाँ पात्र र वैकल्पिक शक्तिको उदयले चुनावी नतिजालाई रोचक र अनपेक्षित बनाउने देखिएको छ ।

यसअघिका तीनवटा निर्वाचनमा कांग्रेसका डिगबहादुर लिम्बू र एमालेका घनश्याम खतिवडाबीच मुख्य भिडन्त हुने गरेको थियो । तर, यसपटक अनुभवी नेता लिम्बू चुनावी मैदान बाहिर रहेका छन् । उनको स्थानमा नेपाली कांग्रेसले उर्लाबारीका पूर्व नगरप्रमुख खड्ग फागोलाई अघि सारेको छ । स्थानीय तहको सफल अनुभव र युवामाझको लोकप्रियता फागोको मुख्य शक्ति बनेको छ ।

नेकपा एमालेका उम्मेदवार एवं कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका लागि यो निर्वाचन आफ्नो विरासत जोगाउने चुनौती बनेको छ । बलियो सङ्गठनात्मक संरचना उनको पक्षमा भए पनि अधुरा योजना र मतदाताको बढ्दो असन्तुष्टि उनीका लागि दबाबको विषय बनेको छ । खतिवडा यसपटक विपक्षी दलसँग मात्र होइन, मतदाताको बदलिँदो मनोविज्ञानसँग पनि प्रतिस्पर्धा गरिरहेका छन् ।

यसपटकको चुनावलाई दुई दलीय घेराभन्दा बाहिर पु¥याउन वैकल्पिक शक्तिहरू सक्रिय छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपाने मैदानमा उत्रिएका छन्, जसले परिवर्तन चाहने मतदाताको ध्यान तानेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको अभियानबाट प्रभावित भएर शान्ती पाख्रिन लामा उम्मेदवार छिन् । साथै, जनयुद्धकालीन कमान्डर कुलप्रसाद साम्बा ’कुशल’को उम्मेदवारीले वामपन्थी मत विभाजन गर्न सक्ने आँकलन गरिएको छ ।

१ लाख २८ हजार ५४५ मतदाता रहेको यस क्षेत्रमा विगतमा कुनै पनि दलको स्थायी वर्चस्व देखिएको छैन । २०७४ मा एमाले र २०७९ मा झिनो अन्तरले कांग्रेस विजयी भएको थियो । समानुपातिकतर्फ रास्वपाले पाएको मतले यसपटक ठूला दललाई थप चुनौती थपेको छ ।

स्थानीय मतदाताहरू यसपटक दलभन्दा बढी उम्मेदवारको कार्यक्षमता, सुशासन र रोजगारीलाई प्राथमिकता दिइरहेका छन् । मोरङ–१ को यो निर्वाचन पुरानो राजनीतिक विरासत र नयाँ परिवर्तनको चाहनाबीचको एउटा ठूलो परीक्षा सावित हुने निश्चित छ ।


Facebook Comments