रविले भने– घण्टीमा मत दिनुस्, नत्र भ्रष्टाचारीलाई फाइदा हुन्छ
'अब सुशासनको इतिहास लेख्ने पालो'
मेयरसाप डेस्क
|
२०८२ फागुन १४ गते १२:४३
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमा भ्रष्टाचारीलाई परास्त गर्न रास्वपाको बहुमत आवश्यक रहेको बताएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्न गोरखा पुगेका लामिछानेले भोट बाँडिएमा भ्रष्टाचारीहरू खुसी हुने भन्दै रास्वपालाई पूर्ण बहुमत दिन आह्वान गरेका हुन् ।
‘भोट बाँडियो भने सिट बाँडिन्छ र रास्वपाको बहुमत आउँदैन । रास्वपाको बहुमत नआउनु भनेको भ्रष्टाचारीहरू खुसी हुनु हो,’ उनले भने ।
धर्म, जात र समुदायका नाममा राजनीति गरेर भोट बैंक बनाउन खोज्ने तत्वहरूबाट सचेत रहन उनले आग्रह गरे । आफूले धर्मका नाममा राजनीति नगर्ने र यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको जोड छ ।
लामिछानेले गोरखा क्षेत्र नं. १ का उम्मेदवार सुधन गुरुङ र क्षेत्र नं. २ का कविन्द्र बुर्लाकोटीलाई जिताउन आग्रह गर्दै सुधन गुरुङ सदन जाँदा भ्रष्टाचारीहरूको जीउ काँप्ने दाबी गरे ।
लामिछानेले आगामी २१ गतेको निर्वाचन भोट खसाल्ने मात्र नभई नयाँ इतिहास लेख्ने अवसर भएको उल्लेख गर्दै सुशासनको जग बसाल्न रास्वपालाई जिताउन अपील गरे ।
Facebook Comments