Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ८१ जनालाई लिखित स्पष्टीकरण

अनुगमन समितिमा उजुरीको चाङ

User Image मेयरसाप डेस्क | २०८२ फागुन १४ गते १२:१६
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog_1.jpg

काठमाडौं । आगामी निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म दर्ता भएका ८७ उजुरीका आधारमा आयोगले ८१ जनालाई लिखित स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण सोधेको छ ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार स्पष्टीकरण सोधिएकामध्ये ५७ वटाको जवाफ प्राप्त भइसकेको छ । प्राप्त जवाफहरूको आयोगले सूक्ष्म अध्ययन गरिरहेको छ । स्पष्टीकरण सोधिनेहरूमा राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारहरू रहेका छन् ।

आचारसंहिता विपरीतका सामग्री प्रकाशन गर्ने सञ्चारमाध्यम र पत्रकारहरूलाई प्रेस काउन्सिल नेपालमार्फत कारबाही प्रक्रिया अघि बढाइएको छ । निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरी उम्मेदवार विशेषको हार–जितबारे सामग्री सम्प्रेषण गर्ने सेतोपाटी अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत नै स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

आचारसंहिता अनुगमनलाई ७७ वटै जिल्लामा प्रभावकारी बनाइएको छ । आर्थिक विषयको अनुगमनका लागि प्रमुख कोष नियन्त्रक र अन्य विषयका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकिएको छ । जिल्लास्तरमा प्राप्त उजुरीहरूमा जिल्लाबाटै स्पष्टीकरण सोध्ने र दोषी देखिए कानुन बमोजिम कारबाही गर्ने प्रक्रिया सुरु भइसकेको छ ।


Facebook Comments