झापा–५ : निर्वाचन सुरक्षाका लागि संयुक्त गस्ती सुरु
मेयरसाप डेस्क
|
२०८२ फागुन १४ गते १६:३३
झापा । आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन झापा क्षेत्र नम्बर ५ मा एकीकृत सुरक्षा फौजले संयुक्त गस्ती सुरु गरेको छ ।
निर्वाचन सुरक्षा योजनाअनुसार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले यस क्षेत्रका विभिन्न स्थानमा गस्ती तीव्र पारेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार, आपराधिक प्रवृत्तिका व्यक्तिहरूलाई हतोत्साहित गर्न र सम्भावित अप्रिय घटनाहरू रोक्न यो कदम चालिएको हो ।
‘निर्वाचन सुरक्षामा कुनै आँच आउन नदिन र मतदातालाई सुरक्षाको प्रत्याभूति गराउन हामीले संवेदनशीलताका आधारमा टोलीहरू परिचालन गरेका छौँ,’ खड्काले भने ।
संयुक्त गस्तीले निर्वाचन बिथोल्न सक्ने गतिविधिमाथि कडा निगरानी राख्ने र क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने लक्ष्य राखेको छ ।
सुरक्षा निकायले स्थानीय तहमा समन्वय गर्दै शङ्कास्पद क्षेत्रहरूमा नियमित र आकस्मिक गस्तीलाई निरन्तरता दिने जनाएको छ ।
Facebook Comments