Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

गठबन्धनले राजनीति दूषित बनायो, कांग्रेसले सफा गर्छ : गगन थापा

User Image मेयरसाप डेस्क | २०८२ फागुन १४ गते १६:५८
Image of https://mayorsap.com/storage/photos/shares/gagan.png

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ को निर्वाचनलाई संविधान जोगाउनका लागि बाध्यताको चुनाव भएको बताएका छन् । 

सुर्खेतमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै थापाले वर्तमान राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे कांग्रेसको धारणा प्रष्ट पारे ।

संविधानलाई सही बाटोमा राख्न यो निर्वाचन अनिवार्य रहेको उल्लेख गर्दै उनले भदौ २३ र २४ का हिंसात्मक घटनाहरूलाई बिर्सन नहुने बताए ।

‘अब न सरकारको गोलीबाट नागरिकको ज्यान जानुपर्छ, न त नकाबधारीले सिंहदरबार जलाउने आँट गर्नुपर्छ,’ उनले भने । उनले केही शक्तिले भदौ २३ र २४ को अराजकतालाई इन्कार गर्न खोजेको भन्दै आलोचना गरे ।

थापाले गठबन्धनको संस्कृतिले नेपालको राजनीतिलाई फोहोर र प्रदूषित बनाएको आरोप लगाए । अब कांग्रेस एक्लैले यो राजनीतिक फोहोर सफा गर्ने संकल्प लिएको उनको दाबी छ ।

वि.सं. २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई देश र जनताका लागि ‘स्वर्णिमकाल’ बनाउने सपनासहित कांग्रेस मैदानमा उत्रिएको उनी बताउँछन् ।

थापाले नेपाली कांग्रेस फरक सोच र दृढ संकल्पका साथ अघि बढेको भन्दै मतदातालाई रुख चिन्हमा मतदान गर्न आह्वान गरे ।


Facebook Comments